एनप्याब्सनको ८औं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने

काठमाडौं, ११ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को ८औं राष्ट्रिय महाधिवेशन आगामी फागुन १६ र १७ गते काठमाडौंमा हुने भएको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महाधिवेशनको मिति सार्वजनिक गर्दै अध्यक्ष सुवास न्यौपानेको नेतृत्वको समूहले यस बारेमा जानकारी दिएको हो ।
एनप्याब्सनको ७औं महाधिवेशन २०७८ मा बाँकेको नेपालगन्जमा भएको थियो । त्यसपछि एसोसिएसन दुई समूहमा विभाजित भएको थियो । त्यस महाधिवेशनमा अध्यक्ष पदको लागि पाण्डव हमाल र सुवास न्यौपानेले १८–१८ महिना अध्यक्षता ग्रहण गर्ने सहमति गरेका थिए । तर, हमालको कार्यकाल समाप्त भएपछि पद हस्तान्तरण नगरेको आरोप लाग्दा विवाद उत्पन्न भएको थियो ।
अध्यक्ष सुवास न्यौपानेले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो सहमति अनुसार १८ महिना पाण्डव सरको र १८ महिना मेरो कार्यकाल थियो । तर, इमानदारी र नैतिकताको समस्याले गर्दा नेतृत्व हस्तान्तरणमा समस्या आयो । अदालतमा मुद्दा दायर भए पनि रिट खारेज भएको थियो । उहाँले आफ्नो दाबी छोड्नुभएन ।’
नेपाली संघीय विधान र सहमति अनुसार अध्यक्ष न्यौपानेले नै अधिकारिक पद सम्हाल्ने जनाउँदै अध्यक्ष न्यौपाने समूहले ८औं महाधिवेशनको मिति घोषणा गरेको हो ।
महाधिवेशनको तयारीको अन्तर्गत सदस्यता नविकरण र प्रमाणिकरण प्रक्रिया पनि भइरहेको जानकारी एसोसिएसनले दिएको छ । यसपटक २०७८ मा भएको महाधिवेशनमा जस्तै १७ सय प्रतिनिधि सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
महाधिवेशनको आयोजनाका लागि राष्ट्रिय महाधिवेशन आयोजक समिति पनि गठन गरिएको छ । आगामी महाधिवेशनमा नयाँ नेतृत्वको चयन र भविष्यका कार्यक्रमहरूको बारेमा छलफल हुने बताइएको छ ।
एसोसिएसनका अधिकारीहरूले यस महाधिवेशनलाई राष्ट्रिय निजी विद्यालयका मुद्दा र आवश्यकतासँग जोडेर महत्त्वपूर्ण मान्दै आगामी दिनमा निजी विद्यालयहरूको हितका लागि धेरै योजनाहरू ल्याउने योजना बनाएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


