पर्सा, ८ फागुन । वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकबाट प्रहरीले एक महिलालाई चरेससहित पक्राउ गरेको छ ।

पक्राउ पर्ने महिला बारा प्रसौनी गाउँपालिका–२ बुनियादकी ३० वर्षीया आरती देवी हुन् ।

इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले नियमित जाँचको क्रममा नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने यात्री तथा सवारी साधनहरूको जाँच गर्दा आरती देवीको साथबाट ठूलो मात्रामा लागूऔषध चरेस बरामद गरेको हो ।

उनको बोकेको झोलामा रातो रङको ग्यालेनभित्र प्लास्टिकमा स–साना पोकामा लुकाइ राखिएको ११ किलो ४ सय ग्राम चरेस फेला परेको थियो ।

पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी सुवास भट्टले आरती देवीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रणमा सहयोगका लागि सिमावर्ती क्षेत्रका जाँच चेकप्वाइन्टहरूलाई अझ कडा बनाउने तयारी भइरहेको छ ।