ताप्लेजुङमा केबलकार विरोधी समूह र सुरक्षाकर्मीबीच झडप, १२ जना घाइते

ताप्लेजुङ, ८ फागुन । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बिहीबार दिउँसो झडप भएको छ ।
यस झडपमा सुरक्षाकर्मीहरू सहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले ७ सेल अश्रुग्यास प्रहार गरेका छन् ।
केबलकार विरोधी प्रदर्शनकारीहरूको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तिनलाई रोक्ने प्रयास गरेका थिए । यस क्रममा झडप भएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपमा नेपाल प्रहरी र सशस्त्रका ११ जना सुरक्षाकर्मी र एक जना प्रदर्शनकारी घाइते भएको जानकारी दिए ।
पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको मुक्कुम्लुङ संयुक्त संघर्ष समितिले ‘मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति’ बनाएर चरणबद्ध आन्दोलन गर्दै आएको छ । उनीहरूका अनुसार पाथीभरा क्षेत्रको केबलकार निर्माणले ऐतिहासिक पहिचानलाई मेट्ने जोखिम रहेको कारण त्यसको विरोध गर्दै आएका छन् ।
झडपको घटनाले पाथीभरा क्षेत्रका स्थानीयवासी र सुरक्षा निकाय बीचको तनावलाई थप बढाएको छ । सुरक्षा बलले स्थिति नियन्त्रणमा लिनका लागि कडा कदम चालेको भए तापनि आन्दोलनकारी समूहले आन्दोलन जारी राख्ने बताएका छन् ।
स्थानीय प्रशासन र सुरक्षा निकायले स्थिति सुधार गर्नका लागि छलफल र संवादका प्रयासहरू गर्दैछन् भने केबलकार परियोजनामा सुधारको प्रस्ताव राख्नेबारे पनि विचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


