जनकपुरधाम, ८ फागुन । मधेश प्रदेश सरकारले जनकपुरधाम, वीरगञ्ज, बर्दिवास र लालगढका १७ वटा दर्ताबिना सञ्चालनमा रहेका निजी अस्पताललाई बन्द गरेको छ । प्रदेश सरकारले यस्ता अस्पताललाई बन्द गरेर सरकारी प्रक्रियामा ल्याउने निर्देशन दिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका ४० वटा निजी अस्पतालको छड्के निरीक्षण गरेका थिए । सो निरीक्षणका क्रममा १५ वटा अस्पताल अवैध पाइएको र त्यसैले बन्द गरिएको जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

जनकपुरधामका १५ अस्पताललाई सरकारी मापदण्ड नपुगेको कारण ताला लगाइएको छ भने १६ वटा अस्पताल नवीकरण नगरी सञ्चालनमा रहेको पाइएको छ । यसबाहेक, जनकपुरधामका ९ वटा निजी अस्पतालको सबै प्रक्रिया ठीक देखिएको छ ।

मुख्यमन्त्री सिंहको निर्देशन अनुसार जनकपुरधामका दर्ताबिनाका अस्पताललाई बन्द गरिएको छ भने नवीकरण नगरी सञ्चालन भइरहेका अस्पताललाई सरकारी प्रक्रिया पूरा गर्न भनिएको छ ।

यसैगरी मुख्यमन्त्री सिंहले वीरगञ्जका ७ वटा अस्पतालको छड्के निरीक्षण गरेका छन् । त्यसमध्ये एक अस्पताल – नेपाल इन्डो हस्पिटल एण्ड आई सेन्टरलाई दर्ताबिना सञ्चालन गरेको पाइएपछि बन्द गरिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । वीरगञ्जका अन्य दुई अस्पतालले नवीकरण नगरेको भेटिएको छ ।

अझै, महोत्तरीको बर्दिवास र धनुषाको लालगढमा रहेका निजी अस्पतालको पनि छड्के निरीक्षण गरिएको छ । बर्दिवासको सिटी केयर अस्पतालले नवीकरण नगरेको पाइएपछि प्रक्रिया पूरा गर्न भनिएको छ भने लालगढ हेल्थ केयर अस्पतालको दर्ता नभएको कारण बन्द गरिएको छ ।

यसैबीच, मुख्यमन्त्री सिंहले वीरगञ्जको क्यासिनोमा पनि अनुगमन गरेका छन् । वीरगञ्जको क्यासिनोमा नेपाली नागरिकहरूको निर्बाध आवागमन भइरहेको र एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको जानकारी पाएपछि सिंह क्यासिनोको अनुगमन गर्न पुगेका थिए ।

यस क्रममा होटल सुरजको क्यासिनोमा जुवा खेलिरहेको एक नेपाली नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्यासिनोमा अभिलेख व्यवस्थित नगरेको देखिएपछि मुख्यमन्त्री सिंहले दुवै क्यासिनो व्यवस्थापकलाई एक हप्ताभित्र परिचयपत्रसहितको सूची, सीसीटीभी फुटेज, कर्मचारी विवरण र अन्य आवश्यक कागजात लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।