काठमाडौं, ७ फागुन । विवादास्पद धार्मिक गुरु रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अपराधबाट सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा मुद्दा दायर गरेको छ । बम्जनमाथि ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनको आधारमा सर्लाहीको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बम्जनमाथि बाल यौन शोषण र व्यक्तिलाई बेपत्ता पारेको आरोप पनि लागिरहेको छ ।

उनलाई २४ पुस २०८० मा पक्राउ गरिएको थियो । त्यसपछि १४ भदौ २०८१ मा सर्लाही जिल्ला अदालतले बम्जनमाथि बाल यौन दुराचारको आरोपमा १० वर्षको कारावास र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यसका साथै उनले सिन्धुपाल्चोक र नुवाकोटका आश्रमबाट व्यक्तिहरूलाई बेपत्ता पारेको आरोप लगाइएको थियो । यद्यपि, त्यसमा दुवै जिल्लाका अदालतले उनलाई सफाइ दिएका छन् ।

पक्राउ परेपछि काठमाडौं बुढानिलकण्ठस्थित उनको घरमा प्रहरीले छापा मार्दा नगद र अन्य सामाग्री बरामद गरिएको थियो । बम्जनका अनुसार, ‘यो रकम कुनै कागजी प्रमाण बिना नै धार्मिक आस्थाका कारण भक्तहरूले दिएका हुन् ।’

उनको घरबाट टोयोटा हाइलक्स, टोयोटा फर्चुनर, मोटरसाइकल र स्कुटरजस्ता महङ्गा सवारीसाधनहरू पनि बरामद भएका थिए । बम्जनले भने, ‘यी सवारीसाधनहरु भक्तहरूले दिएका हुन् र मसँग तिनको स्वामित्व छैन ।’ उनले थपे, ‘मैले आफ्नो अनुयायीमार्फत ४ करोड ८९ लाख रुपैयाँ जम्मा गरेर टोयोटा ल्याण्डक्रुजर किनें ।’

बम्जनमाथि विदेशी विनिमय अपचलनको पनि आरोप छ । यसबारे छुट्टै अनुसन्धान भइरहेको छ । सर्लाही जिल्ला अदालतको निर्णयका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई अपराध गरेर ८ करोड २७ लाख रुपैयाँको सम्पत्ति जोडेको भन्दै मुद्दा दायर गरेको हो ।