काठमाडौँ, ७ फागुन । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा भएको घटनाबारे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकी छन् ।

नेपालबाट आएका विद्यार्थीमाथि भएको दुव्र्यवहार र एक नेपाली छात्राको शंकास्पद मृत्युपछि परराष्ट्रमन्त्री र उडिसाका मन्त्रीबीच संवाद भएको हो ।

मन्त्री राणाले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि कलेज प्रशासनलाई कडा कदम चाल्न र निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेकी थिइन् ।

मन्त्री राणाले मन्त्री सुरजसँग कुराकानी गर्दै त्यहाँका नेपाली विद्यार्थीलाई सुरक्षित वातावरणको व्यवस्था गर्ने र पठनपाठनमा कुनै अवरोध नपर्ने सुनिश्चितता दिने अपिल गरेकी थिइन् । उनले पनि यस्ता घटनाहरूको पुनरावृत्ति हुन नदिन कलेज प्रशासनसँग आवश्यक कदम चाल्न आग्रह गरिन् ।

उडिसाका मन्त्री सुरजले उक्त घटनालाई राज्यले गम्भीर रूपमा लिएको र न्याय सुनिश्चित गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।

उनले कलेज प्रशासनले नेपालका विद्यार्थीहरूको लागि अलग्गै हॉटलाइनको व्यवस्था गरेको र सबै विद्यार्थिहरूलाई होस्टलमा फर्काएर सुरक्षित रुपमा पठनपाठन गर्न सक्ने सुनिश्चितता दिएको बताए ।

उनले कलेजका ती कर्मचारीलाई बर्खास्त गरी कानूनी कारबाही अघि बढाइएको र अब नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि कडा कदम चालिने जानकारी दिए ।

भारत र नेपालका सम्बन्ध विशेष रहेका भन्दै मन्त्री सुरजले भने, ‘यो सम्बन्धलाई आगामी दिनमा पनि सुमधुर राख्नेछौं ।’