आफूहरूसँग आतङ्कवादी जस्तो व्यवहार गरिएको विद्यार्थीहरूको दुःखेसो

जनकपुरधाम, ७ फागुन । भारतको उडिशा राज्यको राजधानी भुवनेश्वरस्थित केआईआईटी युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासन, बाउन्सर र स्थानिय माफियाहरूबाट भएको दुव्र्यवहार र कुटपिटको विरोध गर्दै स्वदेश फर्किन थालेका छन् ।
नेपाली विद्यार्थीहरूले आफूहरूसँग आतङ्कवादी जस्तो व्यवहार भएको र अब उक्त विश्वविद्यालयमा पढ्न जाने वातावरण सुरक्षित नदेखिएको बताएका छन् ।
यस घटनाको शुरुवात भुवनेश्वरस्थित किट युनिभर्सिटीमा एक नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि भएको विरोध र त्यसपछिको कुटपिटबाट भएको हो । विद्यार्थीहरूले यस घटनासँगै विश्वविद्यालय प्रशासन र स्थानिय माफियाहरूको अत्याचारका बारेमा चुप लागेर बस्न नसक्ने बताएका छन् ।
कुटपिट र यातनामा पारिएका विद्यार्थीहरूलाई अब उक्त विश्वविद्यालयमा अध्ययन गर्ने सुरक्षित माहौल छैन भन्ने चिन्ता छ ।
घर फर्किएका विद्यार्थीहरूले सो विश्वविद्यालयमा अत्यधिक असुरक्षित महसुस गरेको र कुटपिटका कारण शारीरिक घाउका डाम र घाउहरू देखाएका छन् । उनीहरूले भने, ‘हामीलाई नेपालीहरूको न्याय भनेकै कुटपिट हो ।’
उनीहरूलाई कोठामा थुनेर कुटिएको भिडियोहरू सार्वजनिक नगर्न भनिएको थियो ।
यसै घटनाको विरोधस्वरूप आज जनकपुरधाममा विद्यार्थीहरूले विरोध ¥याली निकाल्ने र जानकी मन्दिर प्राङ्गणमा श्रद्धाञ्जली दीप प्रज्वलन गर्ने तयारी गरेका छन् । मृतक नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युका बारेमा विद्यार्थीहरूले प्रत्यक्ष दृश्यहरू र घटनाको कडा आलोचना गरेका छन् ।
विद्यार्थीहरूको भनाइ अनुसार नेपाल र भारत सरकार बीच डिप्लोमेटिक वार्ता गरेर भरपर्दो सम्झौतासम्म सुरक्षाको प्रत्याभूति नलिइसम्म उनीहरू स्वदेश फर्किने छैनन् । युनिर्भसिटीको पक्षमा नेपालस्थित एजेन्ट संस्थाहरूको गतिविधि विरोध गर्दै उनीहरूले चेतावनी दिएका छन् ।
विद्यार्थीहरू जनकपुरधाम फर्कने क्रममा धनुषाको जटही नाका हुँदै आफ्नो यात्रा गरेको र यस युनिभर्सिटीमा अध्ययनरत विवेक ठाकुर, शौरव साह, सुरज मण्डल र रुपनी सप्तरीका उज्जवल यादवजस्ता विद्यार्थीहरूले आफ्ना समस्याहरू सार्वजनिक गरेका छन् ।