एजेन्सी, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिइरहेको अनुदान रकम एकपछि अर्को गर्दै रोक्ने निर्णय गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कार्यकारी अधिकारको प्रयोग गर्दै संसारभरका अनुदान कार्यक्रमहरूमा अंकुश लगाएको र केही योजनाहरू बन्द गर्ने घोषणा गरेका छन् । यसैक्रममा उनले नेपाललाई दिइएको अमेरिकी सहयोगलाई ‘ठगी’ भनेका छन् ।

अमेरिकी अनुदान परियोजना युएसएड र एमसीसी नेपालमा रोकिएपछि ट्रम्पले नेपाल र भारतलाई दिइएका सहयोगका विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो प्रशासनको निर्णय अनुसार नेपाललाई वित्तीय संघीयता कार्यान्वनका लागि दिइएको २ करोड अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि १ करोड ९० लाख डलरको सहयोगलाई अनावश्यक र ‘ठगी’को संज्ञा दिएका छन् ।

ट्रम्पले बुधबार सार्वजनिक गरेको दस्तावेजमा भने, ‘नेपालको वित्तीय संघीयताका लागि २० मिलियन डलर पठाएका रहेछौँ । यी नम्बरहरू सुन्नुस्, यी सबै ठगी हुन् ।’ उनले यसैगरी नेपालका लागि अमेरिकी सहयोगको उपयोगिता र यसको उद्देश्यमाथि प्रश्न उठाउँदै त्यसलाई अनावश्यक बताएका छन् ।

ट्रम्पको आलोचनाका कारण नेपाली सरकार र अमेरिकी सहयोगमा ठूलो असर पर्ने सम्भावना रहेको छ । अमेरिकाले नेपालका लागि गरेको विगतका दुई प्रमुख सहयोगलाई ‘ठगी’ ठहराउँदा यसले दुई देशका बीचमा नयाँ चुनौतिहरू खडा गरेको छ ।