पर्सा, ७ फागुन । भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरी निकालिएका नेपाली विद्यार्थीहरू आज नेपाल आइपुगेका छन् ।

सोमबार राति भुवनेश्वरबाट हिँडेका करीब ३ सय विद्यार्थीहरूमा पहिलो समूह बुधबार बिहान वीरगञ्ज नाका पुगेर घर फर्किएका हुन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार ९५ जना विद्यार्थी वीरगञ्ज आइपुगेका छन् र अहिलेसम्म ७६ जना छात्र र १९ जना छात्रा नेपाल फर्किएका छन् । सबैभन्दा बढी विद्यार्थी पर्सा, बारा, रौतहट र मकवानपुर जिल्लाका हुन् ।

गौतमले भने, ‘थप विद्यार्थीहरूको आगमन जारी छ र हामीले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर सुरक्षित घर पुग्ने व्यवस्था गरेका छौँ ।’

विद्यार्थीहरूलाई वीरगञ्जको शङ्कराचार्य गेटमा स्थानीय साउथ जोन स्कुलका दुईवटा बसले सिमरा पुर्याएको छ । स्कुलका सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाले थप समूहलाई लिन बस पठाइने बताए ।

नेपाल फर्किएका विद्यार्थीहरूले कलेज प्रशासनद्वारा कुटपिट र अत्याचार गरिएको घटनाबारे जानकारी दिएका छन् ।

उनीहरूले भने, ‘प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि विरोध गरिरहेका विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले गुन्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेलबाट निकालियो । हामीलाई सामान जम्मा गर्नसमेत समय दिइएन, कुटपिट गर्दै निकालियो ।’

आइतबार अपरान्ह रुपन्देहीकी विद्यार्थी प्रकृति लम्साल शङ्कास्पद अवस्थामा होस्टेलमा मृत भेटिएपछि विद्यार्थीहरू विरोधमा उत्रिएका थिए । यस घटनामा कलेजका महानिर्देशकसहित ६ जना पक्राउ परिसकेका छन् ।

विद्यार्थीहरूले कलेज प्रशासनको अत्याचारको विरोध गर्दै न्यायको माग गरेका छन् । भुवनेश्वरका विभिन्न रेल स्टेशनहरूमा कुटपिटपछि जबरजस्ती छाडिएका विद्यार्थीहरूले कोलकातासम्म यात्रा गरेर त्यहाँबाट विभिन्न बाटो हुँदै नेपाल फर्केका छन् ।