काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको अधिवेशन आजदेखि काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । २५ वर्षपछि हुन लागेको यस अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले भाग लिएका छन् ।

१० गतेसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि कांग्रेस नेता बिमलेन्द्र निधिले देउवालाई सम्बोधन गर्दै उनीलाई पूर्वप्रधानमन्त्री मात्र नभई भावी प्रधानमन्त्रीको रूपमा पनि सम्बोधन गरे ।

निधिको सम्बोधनको शुरुवातमा उनले सभापति देउवालाई ‘पूर्वप्रधानमन्त्री’ भनेर सम्बोधन गरे । उनले भने, ‘भावी प्रधानमन्त्री पनि अब हुँदै हुनुहुन्छ । निश्चितै छ ।’ निधिको यो भनाइले पार्टीभित्र आगामी सरकारको नेतृत्वसँग सम्बन्धित योजना र सम्झौताका बारेमा स्पष्ट संकेत दिएको छ ।

नेपाली कांग्रेस र एमाले बीचको समझदारी अनुसार अहिलेको नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारपछि आगामी निर्वाचनसम्म सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् । यसै सन्दर्भमा निधिले देउवालाई भावी प्रधानमन्त्रीका रूपमा सम्बोधन गरेका थिए ।

यस अधिवेशनमा प्रजातन्त्र सेनानी संघका इतिहास र भविष्यका विषयमा छलफल हुनेछ । २०५३ सालमा पहिलो प्रजातन्त्र सेनानी संघको अधिवेशन भएको थियो । त्यसपछि २०५६ सालमा दोस्रो अधिवेशन हुनुपर्ने थियो । तर, सो अधिवेशन त्यसपछि पनि नियमित रूपमा हुन सकेन ।

त्यसपछि, तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील रहँदै आएको थियो । २०५३ सालदेखि अहिलेसम्म चार जना अध्यक्ष चयन भएका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिका अध्यक्षहरूले संघको नेतृत्व गरेका छन् ।