जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा प्रणव यादव कायम

जनकपुरधाम, ७ फागुन । मधेश प्रदेशको जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको निमित्त निर्देशकको पदमा प्रणव कुमार यादवलाई कायम गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस २८ गते १०औं तहका यादवलाई आर्थिक र प्रशासनिक अधिकारसहित उक्त पदमा नियुक्त गरेको थियो ।
यद्यपि, नियुक्तिको एक दिनपछि पुस २९ गते स्वास्थ्य मन्त्रालयले यादवलाई हाजिरी हुन नहुने गरी पत्र लेखेको थियो । तर, यादव सोही दिनदेखि हाजिर भई प्रयोगशालामा कार्यरत रहेका थिए ।
यादवको नियुक्तिपछि उत्पन्न भएको विवाद उच्च अदालत जनकपुरमा पुगेको थियो । तत्कालिन निमित्त कार्यालय प्रमुख कुमार मृत्युन्जय प्रसादले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रणव कुमार यादवलाई विपक्षी बनाई उत्प्रेषण परमादेशको मुद्धा दायर गरेका थिए ।
अदालतमा फागुन ६ गते भएको सुनुवाईपछि उच्च अदालतले कुमार मृत्युन्जय प्रसादको पक्षमा अन्तरिम आदेश दिन मानेन र यादवलाई जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको रुपमा कायम राख्ने निर्णय गरेको हो ।
प्रणव कुमार यादव यसअघि दुई वर्षसम्म कोशी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा निमित्त निर्देशकको पदमा कार्यरत रहेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


