सप्तरी, ६ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध राजविराजमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

कृषि विश्वविद्यालयको सञ्चालनको माग गर्दै प्रदेश सरकार र मुख्यमन्त्री सिंहविरुद्ध विद्यार्थीहरुले नाराबाजी गर्दै विरोध जनाएका हुन् ।

प्रदर्शनकारी विद्यार्थीहरूले कृषि विश्वविद्यालयको समस्याको समाधान नगरे भविष्यमा यस प्रकारका शैक्षिक संस्थाहरूमा पठाउनको लागि दिने अनुमति (एनओसी) रोक लगाउने चेतावनी पनि दिएका छन् ।

राजविराजको विभिन्न स्थानमा विरोध प्रदर्शन चल्दै नेता चोकमा नाराजुलुस र कोण सभामा परिणत भएको थियो ।

संयुक्त विद्यार्थी संगठनका सदस्यहरूले प्रदेश सरकार र विशेष गरी मुख्यमन्त्री सिंहको उदासीनताका कारण कृषि विश्वविद्यालय समस्यामा परेको आरोप लगाएका छन् । उनीहरुका अनुसार कृषि विश्वविद्यालयका कर्मचारी र शिक्षकहरूले विगत आठ महिनादेखि तलव र सेवा सुविधाहरू नपाएको कारण विश्वविद्यालयको दैनिक कामकाजी प्रक्रिया ठप्प बनेको छ ।

यसै क्रममा विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले प्रदेश शिक्षा मन्त्रालयलाई माघ २९ गते पत्र लेख्दै समस्या समाधानको लागि निर्देशन मागेका थिए । उनले आर्थिक संकटका कारण विश्वविद्यालयका विभिन्न गतिविधिहरू जस्तै बीएससी एजी प्रवेश परीक्षा र तेस्रो सेमेस्टरको परीक्षा संचालन गर्न नसकिने अवस्था आएको बताएका थिए ।

पार्टी परिवर्तनसँगै कृषि विश्वविद्यालयमा देखिएको अस्तव्यस्तता र समस्याहरूका कारण जनमत पार्टीका नेताहरूले सत्तामा आउँदा विश्वविद्यालयको समस्यामा हस्तक्षेप गर्न थालेका छन् ।

जनमत पार्टीका नेताहरूले विश्वविद्यालयमा पदाधिकारी नियुक्ति र आर्थिक कारोबारको विषयमा प्रश्न उठाउँदै यसका लागि छानबिन समिति गठन गरेका थिए । यद्यपि, आठ महिना बितिसक्दा पनि समितिले कुनै प्रतिवेदन बुझाएको छैन र प्रक्रियामा कुनै प्रगति भएको छैन ।

विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूले माघ २७ गते मधेश सरकार र सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै फागुन १ गतेदेखि शैक्षिक र प्रशासनिक गतिविधि ठप्प पार्ने चेतावनी दिएका थिए ।

कर्मचारीहरूले ८ महिना देखि तलव नपाएको र आफ्नो दैनिकी कष्टकर बनेको कुरा सार्वजनिक गर्दै आगामी दिनहरूमा शैक्षिक कार्यक्रम रोक्ने कदम चाल्ने चेतावनी दिएका छन् । यद्यपि, सरकारी तर्फबाट यस विषयमा कुनै निष्कर्ष आएको छैन ।