रौतहटको गौर प्रादेशिक अस्पताल मधेस प्रदेशको उत्कृष्ट, देशका टप टेन अस्पतालमा समावेश

रौतहट, ६ फागुन । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालले मधेस प्रदेशकै उत्कृष्ट अस्पतालको प्रतिष्ठा हासिल गरेको छ ।
यस अस्पतालले हालै भएको मूल्याङ्कनमा ८९ प्रतिशत अंक ल्याएर प्रदेशको ६ वटा प्रादेशिक अस्पतालमध्ये पहिलो स्थानमा कब्जा गरेको हो ।
साथै, ५० बेडको देशका २० प्रादेशिक अस्पतालहरूको सूचीमा पनि यो अस्पताल टप टेनमा पर्न सफल भएको छ ।
मधेस प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको अनुगमन निरीक्षणपछि उक्त घोषणा गरिएको हो । प्रादेशिक अस्पताल गौरले यो सम्मान प्राप्त गर्नका लागि स्वास्थ्य सेवा, डाक्टर र स्वास्थ्यकर्मीको व्यवहार, भौतिक पूर्वाधार तथा अन्य सुविधाहरूको मूल्याङ्कन गरिएको थियो ।
मेडिकल सुपरटेन्डेन्ट डाक्टर मुरारी ठाकुरका अनुसार प्रादेशिक अस्पताल गौरले उच्च मापदण्ड कायम गर्दै गुणवत्तापूर्ण स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले उक्त मूल्याङ्कनमा सर्वश्रेष्ठ प्रदर्शन गर्दै ८९ प्रतिशत मार्क ल्याएको हो ।
समिति प्रमुख नर्सिङ प्रशासक नवौँ तह सुनिता गुप्ताको अध्यक्षतामा अस्पतालको सभाकक्षमा विशेष कार्यक्रमको आयोजना गरेर अनुगमन टोलीले आफ्नो निष्कर्ष सार्वजनिक गरेको थियो । अनुगमन टोलीले अस्पतालका डाक्टर, स्वास्थ्यकर्मीहरूको कार्यक्षमता, बिरामी सँगको व्यवहार, भौतिक पूर्वाधार, एम्बुलेन्स, क्यान्टिन, अपरेसन कक्ष, शौचालयको अवस्था र सरसफाइको समेत मूल्याङ्कन गरेको थियो ।
कार्यक्रममा बक्ताहरूले यस अस्पतालको प्रगतिको लागि कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिँदै भने, ‘कसैको अथक प्रयास र समर्पण बिना यो सफलतासम्म पुग्नु सम्भव थिएन ।’ अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमी र डाक्टर मुरारी ठाकुरको नेतृत्वमा अस्पतालले महत्वपूर्ण सुधार र प्रगति हासिल गरेको उल्लेख गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मनिष झा, स्वास्थ्य कार्यालय रौतहका प्रमुख राजेश कुमार सिंह, एमएमएस स्कोरिङ टिमका सदस्यहरु र अस्पतालका कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रादेशिक अस्पताल गौरले यस आर्थिक वर्षको ७ महिनामा ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । अस्पतालको तथ्याङ्क अनुसार यस अवधिमा २६ हजार ९६३ ओपीडी, १७ हजार ३३१ इमरजेन्सी बिरामीको उपचार, १३ हजार ९५८ बिरामीको रगत परीक्षण र ७ हजार ४९८ जनाको एक्सरे गरिएको छ ।
अस्पतालले हालै किड्नी सम्बन्धी बिरामीको डायलिसिस सेवा पनि सुरु गरेको छ । यहाँ रहेका ३ वटा मेशिनको माध्यमबाट दैनिक १५ बिरामीको डायलिसिस सेवा प्रदान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


