काठमाडौं, ६ फागुन । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि संस्थाले तत्काल कारवाही गर्दै ५ कर्मचारीलाई कारवाही गरेको छ ।

केआईआईटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान जारी राख्दै दुई सुरक्षाकर्मीलाई बर्खास्त गरेको र दुई वरिष्ठ छात्रावास अधिकारी तथा एक अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएको छ ।

केआईआईटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल आइतबार साँझ होस्टेलको शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटना सार्वजनिक भएपछि त्यहाँ पढ्ने नेपाली विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै न्यायको माग गरेका छन् ।

घटना स्पष्ट रूपमा अनुसन्धान गरिनु पर्ने र भविष्यमा यस्ता घटनाहरु नदोहोरिउन् भन्ने सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने उनीहरुको माग छ ।

प्रकृतिको मृत्युसँग सम्बन्धित घटनाको बारेमा व्यापक बहस चलिरहेको छ । विद्यार्थी समुदाय तथा उनको परिवारले घटनाको छानबिनको माग गर्दै शान्तिपूर्ण तरिकाले आवाज उठाएका छन् ।

केआईआईटीका अधिकारीहरुले यस घटनाबारे गम्भीर रूपमा अनुसन्धान गरिरहेको र दोषीहरुलाई कडा कारवाही गरिने आश्वासन दिएका छन् ।