काठमाडौं, ५ फागुन । भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रकरणमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सामाजिक सञ्जाल, संसद र आम नागरिकबाट छानबिनको दबाबका बीच प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमार्फत यस घटनामा सरकारले कूटनीतिक प्रयास गर्दै काम गरिरहेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’

यस घटनामा छानबिनको माग गर्दै अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन) ले कूटनीतिक पहल गर्ने अपिल गरेको थियो ।

प्राकृतिक लम्साल बी–टेक तेस्रो वर्षको विद्यार्थी थिइन् । उनी भुवनेश्वरस्थित केआईआईटीको होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । मृतक विद्यार्थीको परिवार र साथीहरूले यस प्रकरणको न्यायिक छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए ।

तर, प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै उनीहरूलाई होस्टेलबाट बाहिर निकालेको बताइएको छ ।

सरकारले कूटनीतिक च्यानलहरू मार्फत यो मुद्दामा ध्यान दिएर छानबिन गर्ने कार्यमा जुटेको जनाएको छ ।