महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउँदै

रौतहट, ५ फागुन । भारतको प्रसिद्ध महाकुम्भ मेलामा माला बेचेर चर्चा कमाएकी मोनालिसा रौतहट आउने तय भएको छ ।
उनी भारतीय फिल्म निर्देशक सनोज मिश्रसँगै रौतहटको मौलापुरमा हुने मधानी महायज्ञमा सहभागी हुनेछन् ।
मोनालिसा भारतीय चलचित्र उद्योगमा अनुबन्ध गरिसकेकी एक चर्चित अभिनेत्री हुन् । यो उनको पहिलो नेपाल भ्रमण हुनेछ । उनका बारेमा जानकारी दिँदै मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले मोनालिसा र सनोज मिश्रको सहभागिता निश्चित भएको बताइन् ।
मोनालिसाको चर्चाका बारेमा भने उनले महाकुम्भ मेलामा त्रिवेणी संगममा रुद्राक्ष र अन्य धार्मिक सामग्री बेच्ने क्रममा ध्यान आकर्षित गरेकी थिइन् । यसपछि उनलाई सामाजिक सञ्जालमा भाइरल गराइएको थियो । उनको आँखाको फरक रङको कारण उनलाई मोनालिसासँग तुलना गरिन्थ्यो ।
मधानी महायज्ञको यो विशेष कार्यक्रममा भारतीय भोजपुरी तथा हिन्दी सिनेमा उद्योगका लोकप्रिय अभिनेता र सांसद रविकिसन, गीतकार तथा पूर्वमन्त्री विनय बिहारी र गायक–अभिनेता रितेश पाण्डे समेत सहभागी हुने निश्चित भएको छ । मेयर साहका अनुसार महायज्ञको उद्घाटन फागुन ११ गते हुनेछ ।
मधानी महायज्ञ हरेक वर्ष महाशिवरात्रिको अवसरमा मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा आयोजना हुँदै आएको छ ।