काठमाडौं, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय विघा जग्गा हिनामिना गरी आफ्नो बनाउने नेताहरूकासम्बन्धी नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद झाले उक्त जग्गा लुटिएका विषयमा गम्भीर आरोप लगाएका हुन् ।

सांसद झाले बैठकमा जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताउँदै त्यसमा स्थानीय जनप्रतिनिधि, ठेकेदार र दलाल सबै मिलेर संलग्न रहेको आरोप लगाए ।

उनले भने, ‘यो विषयमा मैले पटक–पटक आवाज उठाउँदै आएको छु । रास्वप सरकारमा हुँदा मैले जग्गाको खोजी गर्नका लागि कमिटी गठन गरी प्रतिवेदन पनि तयार पारिसकेको छु ।’

मनिषले थपे, ‘अहिले १४ सय विघा जग्गामध्ये २ सय विघा मात्र बाँकी छ । पुराना दलका नेता र स्थानीय जनप्रतिनिधिहरूसमेत यस हिनामिनामा संलग्न छन् ।’

उनले आफ्नो संघर्षलाई निरन्तरता दिने भन्दै आगामी बैठकमा कुन नेताले कति जग्गा हिनामिना गरेको हो भन्ने जानकारी लिएर उपस्थित हुने चेतावनी दिए ।

उनले सशक्त कदम चाल्दै यो मुद्दा समाधानमा ध्यान केन्द्रित गर्ने र आफ्नो अभियानलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।