जनकपुरधाम उपमहानगरपालिकाले वडाहरुसँग माग्यो निजी विद्यालयहरुको विवरण

जनकपुरधाम, ५ फागुन । जनकपुरधाम उपमहानगरपालिकाले वडाभित्र सञ्चालित निजी विद्यालयहरुको विवरण माग गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले एक पत्र लेख्दै वडाभित्र रहेका सबै निजी विद्यालयहरूको तथ्यांक संकलन गर्न आग्रह गरेको हो ।
गत पुस २ गतेको उपमहानगरको बैठकमा वडाहरुसँग निजी विद्यालयहरुको विवरण माग गर्ने निर्णय गरिए पनि सो निर्णय अनुसार विवरण उपलब्ध नगरिएको भन्दै उपमहानगरपालिकाले पुनः फागुन ४ गते पत्र लेख्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन भनेको छ ।
पत्रमा विद्यालयहरूको स्थलगत निरीक्षण गर्ने र कति कक्षासम्मको अनुमति लिएको, कति कक्षासम्म सञ्चालन भइरहेको र विद्यालय सञ्चालनका लागि नियमानुसार अनुमति लिएको कि नगरेको भन्ने विवरण समेत समावेश गर्न भनिएको छ ।
शिक्षा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्र लाल कर्णद्वारा हस्ताक्षरित पत्रमा वडाहरुले यो जानकारी चाँडै उपलब्ध गराउनुपर्ने उल्लेख छ । यसअघि पनि पालिकाले पुस २ गते सम्पूर्ण वडाहरुलाई पत्राचार गरी वडाभित्र कति संख्यामा निजी विद्यालयहरु संचालनमा छन् भन्ने जानकारी मागेको थियो । तर, वडाध्यक्षहरुले पालिकाको पत्रको अनुरोधलाई बेवास्ता गर्दै कुनै प्रतिक्रिया दिएका थिएनन् । यसकारण पालिकाले पुनः फागुन ४ गते पत्राचार गरी ताकेता गरेको हो ।
उपमहानगरपालिकाले यस्तो पहल गरेर विद्यालयहरूको अनुगमनमा सुधार ल्याउन र निजी विद्यालयहरूको सञ्चालनमा पारदर्शिता सुनिश्चित गर्न चाहेको छ । अब तीन दिनको समयसीमा भित्र सबै वडाहरुलाई पालिकामा आवश्यक विवरण बुझाउन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


