मुख्यमन्त्री सिंहको अनुगमन जारी, आइतबार जनकपुरधामका ९ अस्पतालको अनुगमन, ४ बन्द

जनकपुरधाम, ४ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिएका छन् ।
यस क्रममा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा ९ वटा अस्पतालको अनुगमन गरिएको छ ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा रहेको टोलीले जनकपुरधामको विभिन्न स्थानमा रहेका अस्पतालहरूको जाँचबुझ गरेका छन् । अस्पतालहरूको अनुगमनमा प्रमुख ध्यान अस्पतालहरूको व्यवस्थापन, स्वास्थ्य सेवा सुविधा र अन्य नियमका उल्लङ्घनहरूमा थियो ।
अनुगमनका क्रममा ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टर, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि, नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, गोदावरी हस्पिटल, कृष्ण हस्पिटल र एडभान्स सिटी स्क्यानका अस्पतालहरू निरीक्षण गरिएका छन् ।
अनुगमनपछि जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्ण हस्पिटल प्रालि बन्द गरिएका छन् । यी अस्पतालका संचालकहरूलाई अस्पतालका सञ्चालनका प्रक्रिया र आवश्यक कागजपत्रको अभावका कारण बन्द गर्ने आदेश दिइएको छ ।
ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ भने गीताश्री इएनटी स्पेसियालिटी क्लिनिकलाई दर्ता नभएको कारण सोमबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।
यसैगरी, नवजीवन हस्पिटल र वैदेही हस्पिटलले गत चार वर्ष र दुई वर्षदेखि आफ्नो नवीकरण प्रक्रियालाई पूरा नगरेकोले उनीहरूलाई कागजपत्रसहित सोमबार मुख्यमन्त्री कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अस्पतालहरूको अनुगमनसँगै जनकपुर मोडल हस्पिटलको सञ्चालकलाई पनि सिसिटिभी फुटेज सहित जाँचबुझको लागि बोलाइएको छ । यसका आधारमा यस अस्पतालमा बन्द अवस्थामै बिरामीको उपचार भइरहेकाछ भन्ने आशङ्का गरिएको छ ।
मुख्यमन्त्री सिंहले हालसम्म ४० वटा अस्पतालको अनुगमन गरिसकेका छन् । जसमध्ये ९ वटा अस्पताल बन्द गरिएका छन् । यस अनुगमनको उद्देश्य प्रादेशिक स्वास्थ्य सेवामा सुधार ल्याउनु र नागरिकहरूलाई सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्नु रहेको बताइएको छ ।