काठमाडौं, ४ फागुन । प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७२ अधिकृतलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्रमका दौरान ७२ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनीहरुको कार्यक्षेत्रमा उत्कृष्टता र जिम्मेवारी थपिएको बताएका छन् । उनले बढुवा पाएका अधिकृतलाई आफ्नो कार्यसम्पादनमा उत्कृष्टता देखाउन निर्देशन दिएका छन् ।

७५ प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवा गरिएको थियो । जसमा २ जना संयुक्त राष्ट्र संघीय मिसनमा र १ जना तालिमको सिलसिलामा विदेशमा रहेको कारण ७२ जना अधिकृतलाई मात्र चिन्ह प्रदान गरिएको जानकारी दिइएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले यो बढुवा र दर्ज्यानी चिन्ह प्रदान गर्ने अवसरलाई उनीहरूको कडा मेहनत र समर्पणको मूल्यांकनको रुपमा लिएका छन् । उनले अधिकृतहरुलाई पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारीमा वृद्धि भएको भन्दै अझ जिम्मेवार र संवेदनशील कार्यसम्पादनको आवश्यकता रहेको बताएका छन् ।