जनकपुरधाम, ४ फागुन । मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले आज जनकपुरधामस्थित कदमचौकमा रहेको आमसञ्चार प्राधिकरण र मधेस चलचित्रबोर्डको कार्यालयको अनुगमन गरेका छन् ।

गृहमन्त्री लेखीसँग अनुगमनको क्रममा मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल र मन्त्रीका राजनीतिक सल्लाहकार कुन्दन झा पनि उपस्थित थिए ।

अनुगमनको उद्देश्य कार्यालयहरूको कार्यप्रणाली, प्रगतिको अवलोकन गर्ने र कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गरेर आम नागरिकलाई प्रदान गर्ने सेवामा सुधार ल्याउनु रहेको गृहमन्त्री लेखीले बताए ।

अनुगमनको दौरान गृहमन्त्री लेखीले संस्थाका प्रमुखहरूसँग विभिन्न विषयमा छलफल गरेका थिए । उनले कार्यालयको व्यवस्थापनमा सुधारको आवश्यकता भएको बताए । गृहमन्त्री लेखीले भने, ‘हामी जनताको सेवामा सुधार ल्याउन प्रतिबद्ध छौं र आवश्यक कदम चाल्नेछौं ।’

गृहमन्त्री लेखीले सामाजिक र सांस्कृतिक क्षेत्रमा सुधारका लागि निरन्तर प्रयास गर्नुपर्ने धारणा व्यक्त गर्दै प्राधिकरण र चलचित्रबोर्डका कार्यलाई अझ प्रभावकारी बनाउन पहल गरिने बताएका छन् ।

अनुगमनपछि गृहमन्त्री लेखीले भने, ‘हामीलाई जनताको आवश्यकता र अपेक्षाहरूसँग मेल खाने सेवा प्रवाहको स्तरमा सुधार गर्नु आवश्यक छ । यसका लागि हाम्रो प्रयास निरन्तर रहनेछ ।’

गृहमन्त्री लेखीले आगामी दिनमा अन्य विभिन्न कार्यालयहरूको पनि अनुगमन कार्यक्रम जारी राख्ने बताएका छन् ।