नेपालको तयारी पूर्ण, सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु

काठमाडौँ, ४ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (इन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ ।
प्रतियोगिता सुरू हुनुअघि नेपाली महिला फुटबल टोलीका प्रशिक्षक र कप्तानले टोलीको तयारी पूरा भएको जानकारी दिएका छन् ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताए । उनले भने, ‘लगभग सबै तयारी सकिएको छ । बाहिरबाट आउने एन्जिला र रेखा आइसकेका छन् । साम्बा (सावित्रा भण्डारी) भोलि बिहानसम्म आईपुग्छ । अब भोलिको लागि तयारी हुँदैछ ।’ प्रशिक्षक तामाङले प्रतियोगिताको बारेमा प्रि–म्याच कन्फ्रेरेन्समा जानकारी दिँदै टोलीको मानसिक र शारीरिक तयारीको महत्वलाई जोड दिएका छन् ।
नेपालको कप्तान एन्जिला तुम्बापो सुब्बाले यो प्रतियोगिता नेपालको लागि ठूलो अवसर भएको बताइन् ।
उनले एन्फालाई प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिँदै भनिन्, ‘हाम्रो लागि यो ठूलो अवसर हो । साफको प्रतियोगिता समाप्त भएपछि हामी तुरुन्तै अर्को प्रतियोगिता खेल्न पाएका छौं । यो हाम्रो लागि र समर्थकहरूको लागि राम्रो हो ।’ कप्तान एन्जिलाले थपे, ‘हाम्रो तयारी राम्रो छ र टिमवर्क पनि बलियो छ । विपरीत टिमहरू पनि बलियो छन् । जित्ने भनाइभन्दा मैदानमा प्रमाणित गर्नुपर्छ ।’
नेपालले सोमबार आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्नेछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनान बीच खेल हुनेछ ।
प्रशिक्षक तामाङले कीर्गिस्तानसँगको पहिलो खेलको बारेमा जानकारी दिँदै भने, ‘६ वर्षअघि हामीले कीर्गिस्तानसँग ८–२ को फराकिलो जित हासिल गरेका थियौं । तर, अहिले टिम परिवर्तन भएको छ । कीर्गिस्तानले आफ्नो खेलमा सुधार ल्याइसकेको छ । हामीले राम्रो योजना बनाएर खेल्नुपर्नेछ । उनीहरूको काउन्टर अट्याकमा ध्यान दिनु जरुरी छ ।’
प्रशिक्षक तामाङले म्यानमार र लेबनान पनि राम्रो टिम रहेको बताउँदै, ‘लेबनानले गत वर्ष बाफ च्याम्पियनसिपमा हामीलाई हराएको थियो । र, म्यानमारसँग भने नेपालले ३ खेलमा जित हासिल गर्न सकेको छैन । त्यसैले हामीले राम्रो तयारी र रणनीतिका साथ मैदानमा उत्रनुपर्नेछ ।’
नेपालका लागि यो घरेलु मैदानमा खेल्नको ठूलो अवसर हो । नेपाली टोली घरेलु दर्शकहरूको मन जित्नको लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ । प्रशिक्षक तामाङले भने, ‘महिला लिगको कारण खेलाडीहरू फिट रहेका छन् । यसले हाम्रो तयारीलाई बलियो बनाएको छ ।’
कप्तान एन्जिलाले पनि यसअघि भएका गल्ती र कमजोरीहरू सुधार गर्दै राम्रो प्रदर्शन गर्ने कुरा बताइन् । उनले आफ्नो टोलीलाई अझ राम्रो बनाउन र आफ्नो प्रदर्शनमा सुधार ल्याउन सधैं प्रतिबद्ध रहेको जनाइन् ।
त्यसैगरी, म्यानमार, लेबनान र कीर्गिस्तानका प्रशिक्षक र कप्तानहरूले पनि यो प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको र उनीहरूले राम्रो प्रदर्शन गर्ने तयारीमा रहेको बताएका छन् । प्रतियोगिता आफैलाई आगामी एसियन वुमन्स कप क्वालिफायरको तयारीको रूपमा लिइएको छ ।