काठमाडौँ, ४ फागुन । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–७ पानचोक स्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू सिन्धुपाल्चोकका विभिन्न स्थानका निवासी रहेको बताइएको छ ।

पक्राउ पर्ने व्यक्तिहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ घर भएका २६ वर्षीय अशोक तामाङ, २५ वर्षीय सरोज तामाङ, २२ वर्षीय समीर तामाङ, पाँचपोखरी–७ का निराजन आचार्य, नवज्योति गुरुङ र हिराबहादुर तामाङ छन् ।

प्रहरीको अनुसन्धान अनुसार यी ६ जनाको समूहले २० माघको राति करीब पौन १२ बजेतिर पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप छ । यस घटनामा प्रहरीले उक्त समूहको कब्जाबाट ११ थान मोबाइल र चोरीमा प्रयोग भएका रड र ५ थान टिभी बरामद गरेको छ ।

पक्राउ परेका आरोपितहरूसँग प्रहरीले थप अनुसन्धान गर्दै चोरीको मुद्धामा कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि गरिरहेको छ ।

पक्राउ परेका आरोपीहरूको चोरीको उद्देश र अन्य विवरणहरूको बारेमा थप अनुसन्धान गरिरहेको र उनीहरूलाई न्यायिक प्रक्रियामा लिने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।