सुधार केन्द्रमा युवक हत्या प्रकरण : पीडित परिवारद्वारा सञ्चालकलाई पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन

बारा, ४ फागुन । बाराको कलैया उपमहानगरपालिका–९ स्थित सुधार केन्द्रमा कुटपिट गरेर हत्या गरिएका युवक प्रदिप प्रसाद मण्डलका परिवार र स्थानीयवासीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।
मृतक मण्डलका परिवारजन र स्थानीयहरूले नवजन्म सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागी हुनेहरूले ‘संचालकलाई पक्राउ गर, पीडितलाई न्याय दे, दोषी हत्यारालाई फासी दे, थप सिसिटिभी फुटेज सार्वजनिक गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रमा गरेका थिए । विरोध प्रदर्शनपछि पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमार्फत पीडित परिवारले सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गरि कारवाही गर्नुपर्ने माग राखेका छन् । उनीहरूले भने, ‘प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेको भएपनि संचालक मन्सुरलाई अझै पक्राउ गरिएको छैन । उनलाई पनि छानबिनमा ल्याएर कारवाही गर्नुपर्छ ।’
बाराका एसपी सन्तोष तामाङले भने, ‘प्रहरीले सबै अभियुक्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न सबैलाई कानूनी कारवाही गरिनेछ । सिसिटिभी फुटेज र अन्य प्रमाणहरूलाई ध्यानमा राखेर अनुसन्धान भइरहेको छ ।’
एसपी तामाङले केन्द्रका संचालक मन्सुर घटनास्थलमा उपस्थित नभएको बताएका छन् । यद्यपि उनको सम्पर्कमा काम भइरहेको पनि जानकारी दिए । घटनाको अनुसन्धानमा तीव्रता ल्याउने र दोषीलाई कानूनी कारवाही गर्ने प्रतिवद्धता उनले जनाए ।
गत बिहीबार राती कलैया उपमहानगरपालिका–९ रामपुर निवासी युवक प्रदिप प्रसाद मण्डलको सुधार केन्द्रमा कुटपिट गरि हत्या गरिएको थियो । सात जनालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
सांसद रामबाबु कुमार यादवले पीडित परिवारसँग भेटघाट गर्दै भने, ‘हत्यामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई कारवाही गरिनेछ । म पनि सोमबार प्रशासनलाई ज्ञापनपत्र बुझाउनेछु र दोषीलाई न्याय दिन अनुरोध गर्नेछु ।’
विरोध प्रदर्शन र प्रशासनमा ज्ञापन पत्र बुझाएपछि पीडित परिवारले न्यायका लागि अझै संघर्ष जारी राख्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


