प्रधानमन्त्री ओली सांसद प्रभु साहको प्रश्नमाथि आक्रोशित

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद प्रभु साहले उठाएका प्रश्नहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।
सांसद साहले प्रधानमन्त्रीलाई गरेका प्रश्नहरूको जवाफ नदिँदा ओली आक्रोशित भएका थिए । उनले सांसद साहको भाषाप्रति कडा आपत्ति जनाए ।
सांसद साहले आफ्नो प्रश्नमा भनेका थिए, ‘संसद् जस्तो गरिमामय स्थानमा युवा विदेश पठाएर तपाईंलाई के लाभ भयो?’ यस प्रश्नलाई प्रधानमन्त्री ओलीले असम्मानजनक भन्दै त्यसको प्रतिवाद गरे ।
उनले भने, ‘उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन् । संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा प्रयोग किन? के म मेनपावर कम्पनीको मान्छे हो? तपाईँले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो । उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन । प्रश्नमा उत्तर बोकेर आउनु भएको छ । यहाँलाई धन्यवाद छ ।’
साहले प्रधानमन्त्री ओलीलाई तीव्र प्रश्न गर्दै भनेका थिए, ‘नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डीमार्फत खुलेआम कालो धनसँग मिलन भइराख्दा तपाई किन मौन बस्नुभयो?’ उनले नेपाल सरकारको चुप्पी र विदेशी श्रमिकहरूको दुर्दशाबारे प्रश्न उठाएका थिए ।
सांसद साहले सरकारको श्रम सम्झौतामा भएका खोटहरूको बारेमा पनि चिन्ता व्यक्त गरे । ‘विदेशमा नेपाली नागरिकको ट्रेड युनियनको अधिकार नपाउने गरी श्रम सम्झौता किन गर्नुभयो?’ उनले भने, ‘विदेशमा रहेका नेपालीको रेमिटेन्सको असमानता र गैरकानुनी ढंगले पैसा विदेश पठाउने घटनाहरू किन रोक्न सकिनन्?’
साहको प्रश्नमा थप जटिलता आएको थियो जब उनले नेपाली नागरिकता परित्याग गरेर विदेशी नागरिकता लिनेहरूको संख्या र तिनीहरूको सम्पत्ति बारे पनि प्रश्न गरे । ‘नेपाली नागरिकता परित्याग गरी विदेश नागरिकता लिनेहरूको संख्या कति छ?’ उनले भने, ‘उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कति छ?’ साथै, अवैध सम्पत्तिको विषयमा सरकारको निष्क्रियताबारे पनि सांसद साहले असन्तुष्टि जनाए ।
प्रधानमन्त्री ओलीले सांसद साहको तीव्र आरोपहरूको प्रतिवाद गर्दै उत्तर नदिने निर्णय गरे । उनले भने, ‘सांसद साहले प्रश्नमा उत्तर बोकेर आएका छन् । त्यसैले मैले कुनै उत्तर दिने आवश्यक ठानेको छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


