अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै

काठमाडौं, ३ फागुन । शनिबार पोखरामा आयोजित एक कार्यक्रमको उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । दुवै जनाको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गनमा दुवै जनाको शरीरको ५–६ प्रतिशत जलेको जानकारी दिएका छन् ।
डा. नकर्मीले भने, ‘अनुहारमा जलन भएको कारण श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना छ । त्यसैले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
घाइते भएका दुवै जनाको उपचारमा अस्पतालका विभिन्न विशेषज्ञहरूको टोली सक्रिय छन् । प्रा. डा. विडी झा र डा. प्रविण गिरीको नेतृत्वमा सघन उपचार कक्षको टोली उपचार गरिरहेको छ । त्यस्तै, जलन विशेषज्ञ प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको टोली पनि उपचारमा संलग्न छन् ।
अस्पतालका आकस्मिक उपचार टोलीका सदस्य डा. प्रयुस अर्याल लगायतको टोलीले पनि घाइतेहरूको उपचारमा विशेष ध्यान दिइरहेका छन् । थप रूपमा नर्सिङ्ग टोलीका रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतका नर्सहरू पनि घाइतेको सघन उपचारमा जुटेका छन् ।
अस्पतालका चिकित्सकहरूले उनीहरुको स्वास्थ्यमा नियमित निगरानी राख्दै सबै सम्भावित उपचार प्रक्रिया अघि बढाएका छन् ।