महोत्तरी, ३ फागुन । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले पत्रकारिता र सामाजिक सञ्जालमा देखिएको छाडापन नियन्त्रण गर्न अति जरुरी रहेको बताएका छन् ।

मन्त्री यादवले शनिबार महोत्तरीको बर्दिबासमा प्रेस चौतारी नेपाल महोत्तरी शाखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै यस विषयमा गम्भीर चेतावनी दिएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जाल र पत्रकारितामा छाडापन देखिएको छ । विना तथ्य, प्रमाण र आधारमा लेख्ने प्रवृत्ति मौलाउँदै गएको छ । यसलाई नियन्त्रण गर्न कानुनी व्यवस्थाको आवश्यकता छ ।’

मन्त्री यादवका अनुसार पत्रकारिता र सामाजिक सञ्जालमा घटिरहेका गैरजिम्मेवार गतिविधिहरूलाई कानुनी ढाँचामा ल्याएर जिम्मेवार बनाउनुपर्ने आवश्यकता छ ।

मन्त्री यादवले पत्रकारिता क्षेत्रमा जिम्मेवारीको महत्त्वलाई जोड दिँदै पत्रकारहरूलाई संवेदनशीलता अपनाउन आग्रह गरेका छन् ।

उनले भने, ‘यो विषयमा पत्रकार पनि संवेदनशील हुनुपर्छ, ताकि समाजमा गलत सूचना र भ्रम फैलिनबाट रोक्न सकियोस् ।’

मन्त्री यादवले मधेस प्रदेशको गरिमा र विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको जानकारी पनि दिए ।

उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १५ अर्ब रुपैयाँको बजेटसँगै योजना कार्यान्वयनको टेन्डर प्रक्रिया अघि बढाइरहेको छ । यसले प्रदेशको भौतिक पूर्वाधारमा ठूलो परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।

मन्त्री यादवले प्रदेश सरकारले सम्पूर्ण क्षेत्रलाई व्यवस्थित गर्नका लागि तीव्र गति सँग काम गरिरहेको र स्वास्थ्य संस्थाहरूको अनुगमन र नियमनमा पनि द्रुत कार्यवाही भइरहेको जानकारी दिए ।

समाजमा राजनीतिक स्थायित्वका लागि देशका दुई प्रमुख दल एकजुट भई काम गरिरहेका छन् भन्ने उल्लेख गर्दै मन्त्री यादवले आगामी दिनमा थप सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।