बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल घाइते, उपचारका लागि काठमाडौँ लगियो

पोखरा, ३ फागुन । पोखरामा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका छन् । उनलाई तत्काल काठमाडौँ लगिएको हो ।
पौडेललाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको जानकारी अर्थमन्त्रीको सचिवालयले दिएको छ ।
सचिवालयका अनुसार अर्थमन्त्री पौडेलको हात र अनुहारमा चोट लागेको छ । थप जाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिनेछ । प्रेस सल्लाहकार भुवन केसीले भने, ‘चोट सामान्य रहेको छ । तर, थप असर नपुगोस् भनेर जाँच गराउन अस्पताल लगिएको हो ।’
यसअघि, अर्थमन्त्री पौडेलको प्रारम्भिक उपचार पोखराको गण्डकी अस्पतालमा गरिएको थियो । पोखरामा भ्रमण वर्षको उद्घाटन समारोहको क्रममा ‘भ्रमण वर्ष’ लेखिएको ब्यानरसहितको बेलुन पड्किएपछि पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका थिए ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि घाइते भएपछि काठमाडौँ लग्ने तयारी गरिएको छ ।
घटनाले पोखराको भ्रमण वर्ष उद्घाटन समारोहको उत्साहलाई केही कम गरिदिएको छ । यद्यपि घाइतेहरूको अवस्था सामान्य रहेको र उपचार जारी रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


