जनकपुरधाम, ३ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध र अनाधिकृत अस्पतालहरूको अनुगमन गर्ने कार्यलाई विरोध गर्दै जातीय संघसंस्था र मोर्चाबन्दीलाई उतार्ने प्रयास गरिएको छ ।

यसै विषयमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले शनिबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै विरोधको वैधता र उद्देश्यमा प्रश्न उठाएको छ ।

सचिवालयले मुख्यमन्त्री सिंहको अनुगमन अभियानमा २१ वटा अस्पताल अनधिकृत रूपमा सञ्चालन भइरहेको भेटिएको जनाएको छ । ती अस्पतालहरूमा भर्ना गरिएका बिरामीहरू लुटिएका, अलपत्र परेका र केहि बिरामीहरूको मृत्यु भएको उल्लेख गरिएको थियो ।

जनमत पार्टीका अनुसार मुख्यमन्त्री सिंहले ती अस्पतालहरूलाई व्यवस्थित गर्न आग्रह गरेपछि विभिन्न मोर्चा र जातीय संघसंस्था यी कदमको विरोधमा उत्रेका छन् ।

डा. सीके राउतको सचिवालयले मुख्यमन्त्रीको अनुगमनले अवैध अस्पतालहरूको अव्यवस्था र अत्याचार उजागर गरे पनि विरोधको शैलीमा उठाइएका सवालहरू जनताको लागि अस्वीकृत भइरहेको जनाएको छ ।

सचिवालयले विरोधका नेताहरूको कदममा प्रश्न उठाउँदै भनेको छ कि, ‘मधेशका जनताले हरेक कदमलाई गम्भीरतासाथ हेरिरहेका छन् । र, उनको दुख, पीडा र स्वास्थ्यको हितमा उठाइएको कदमलाई स्वीकार गर्न तयार छन् ।’

त्यसैगरी, डा. राउतको सचिवालयले प्रदेशसभामा मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की दिइएको घटनाबारे पनि चिन्ता व्यक्त गरेको छ । ‘यहाँ प्रतिपक्षीको विरोध गर्ने तरिका यति खतरनाक र हिंसात्मक हुनु भनेको समाज र राजनीति दुबैका लागि खतरा हो,’ विज्ञप्तिमा भनिएको छ ।

सचिवालयले अनाधिकृत क्रसर उद्योगमा राति छापा मार्दा आएको विरोध र धम्कीबारे पनि टिप्पणी गर्दै भनेको छ कि, ‘विरोध र धम्कीका नाममा हरेक कदमको मूल्याङ्कन गर्न आवश्यक छ ।’

यस घटनामा अब मधेशका जनताले अगाडि बढेर कुन पक्ष लिन्छन् र राजनीतिको कस्तो दिशा लिन्छ भन्ने कुरा चासोको विषय बन्न पुगेको छ ।