मुख्यमन्त्रीद्वारा जनकपुरधामका थप पाँच निजी अस्पतालमा छड्के अनुगमन, दुई अस्पतालको नवीकरण फेल

जनकपुरधाम, २ फागुन । मधेश प्रदेश सरकारले जनकपुरधामका पाँच निजी अस्पतालमा छड्के अनुगमन गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहको नेतृत्वमा भएको अनुगमनमा दुई अस्पताल नवीकरणमा फेल भएको तथा दुई अस्पतालमा आवश्यक कागजातको अभाव भेटिएको जानकारी प्राप्त भएको छ ।
रेल्वेस्टेशन नजिक अवस्थित ५० शय्याको जनकपुर सिटी हस्पिटल र धनुषा अस्पताल दर्ता भए पनि नवीकरणमा असफल भएका छन् ।
अनुगमनको क्रममा सिटी अस्पतालमा कार्यरत कर्मचारीको तलब विवरण र गरीब, दलित र सीमान्तकृत समुदायलाई दिइने छुटको विवरण प्रस्तुत गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबारसम्म पेश गर्न निर्देशन दिइएको छ । त्यस्तै, धनुषा अस्पताललाई पनि नवीकरण नगरेको कारण आवश्यक कागजात पेश गर्न भनिएको छ ।
कदमचोकस्थित न्युरो सेन्टर र विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालले अनुमति लिएका कागजात देखाउन नसकेका कारण यसैगरी कागजात आइतबारसम्म पेश गर्न भनिएको छ । मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल भने दर्ता भएको पाइएको छ ।
यसअघि मुख्यमन्त्री सिंहले जनकपुरधामका २६ निजी अस्पतालमा छड्के अनुगमन गर्दै दर्ता नगरेका पाँच अस्पताललाई बन्द गरिसकेका छन् ।
मधेश प्रदेश सरकारको यस कदमले निजी अस्पतालहरूको गुणस्तर र नियम पालना सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।