जनकपुरधाम, २ फागुन । हैबिटेट नेपालको सहयोगमा सिआइसी धनुषाद्वारा सञ्चालित सुरक्षित आवास परियोजनाको सम्बन्धमा महत्वपूर्ण बैठक जनकपुरधाममा आयोजना गरिएको छ ।

बैठकले परियोजनालाई अझ प्रभावकारी बनाउनका लागि केही महत्वपूर्ण निर्णयहरू लिएका छन् ।

सुरक्षित आवास परियोजना धनुषा जिल्लाका गणेशमान चारनाथ नगरपालिका र शहीदनगर नगरपालिकामा सञ्चालित छ । यसले अति विपन्न र भूमिहीनलाई सुरक्षित आवास प्रदान गर्दै भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र, विपद जोखिम न्यूनिकरण, वितीय साक्षरता, खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम लगायतका सेवा उपलब्ध गराइरहेको छ ।

बैठकको क्रममा परियोजनाका बारेमा जानकारी लिइयो । र, आगामी दिनमा समितिले दुबै पालिकामा सञ्चालित परियोजनाको कार्यसम्पादनको अवलोकन भ्रमण गर्ने निर्णय पनि गरिएको छ । यस भ्रमणमार्फत परियोजनालाई अझ प्रभावकारी बनाउनका लागि सुझाब दिने र तिनको कार्यान्वयनमा जोड दिने योजना बनाइएको छ ।

समितिको संयोजकत्व जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले गरेका छन् । बैठकमा गणेशमानचारनाथ नगरपालिकाका प्रमुख जीतनारायण यादव, शहीदनगरपालिकाका उपप्रमुख सुनिता कुमारी सिंह, वडाध्यक्षहरू, आदिवासी जनजाती महासंघका वीरेन्द्रसिंह दनुवार, गैसस महासंघका केन्द्रिय सदस्य धीरेन्द्रबहादुर सिंह, हैबिटेट नेपालका पूर्वी कार्यालय प्रमुख पंकज कुमार साह लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।

यस परियोजनाले जिल्लामा विपन्न र भूमिहीन समुदायको जीवनस्तर सुधार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउने प्रक्रिया अघि बढ्नेछ ।