कलैयामा सुधार केन्द्रमा कुटपिट, एकजनाको मृत्यु, ७ जना पक्राउ

बारा, २ फागुन । बाराको कलैया उपमहानगरपालिका–१ स्थित नव जन्म पुनस्र्थापना केन्द्रमा भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङका अनुसार मृतकको पहिचान कलैया उपमहानगरपालिका–९ का ३० वर्षीय धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलका रूपमा भएको छ ।
एसपी तामाङका अनुसार सुधार केन्द्रमा गएराति २ बजे अन्य व्यक्तिसँग वादविवाद हुँदा मण्डलमाथि कुटपिट भएको थियो । मण्डल गत १५ दिन अघि सुधार केन्द्रमा भर्ना भएका थिए ।
कुटपिटका कारण मण्डल गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । त्यहाँ चिकित्सकले उनको मृत्यु घोषणा गरेका छन् ।
कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्ता रहेका छन् ।
प्रहरीले कुटपिटको कारण अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान गरिने जनाइएको छ । यस घटनाले सुधार केन्द्रको वातावरण र व्यवस्थापनमा प्रश्न उठाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


