जनकपुरधाम, २ फागुन । नेकपा माओवादी केन्द्र धनुषाधाम नगर कमिटीले नगरपालिका प्रशासनविरुद्ध ११ बुँदे माग प्रस्तुत गर्दै आन्दोलनको घोषणा गरेको छ ।

जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डललाई १० दिने अल्टिमेटम दिने ज्ञापन पत्र बुझाएको हो ।

पार्टीका नेता दिपक यादवका अनुसार १० दिनभित्र माग सम्बोधन नभए फागुन १२ गतेदेखि चरणवद्ध आन्दोलनमा उत्रिने तयारी छ ।

माओवादी केन्द्रले नगरपालिकाले आम नागरिकलाई सेवा प्रवाहमा उदासिनता र भ्रष्टाचारको आरोप लगाउँदै ११ बुँदे माग प्रस्तुत गरेको छ । पार्टीले जनतालाई प्रत्यक्ष सेवाप्रदान गर्न नगरपालिका असफल भएको दाबी गर्दै विभिन्न सेवामा सुधारको माग गरेको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएको ११ बुँदे मागमा प्रमुखतः धनुषाधाम नगरपालिकाको कार्यालयलाई नवनिर्मित भवनमा सार्न, धर्मशाला पर्यटकका लागि खाली गर्न, प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा तुरुन्त सुरु गर्न, शिक्षक दरबन्दी मिलान गरेर शिक्षामा सुधारको पहल गर्न, भाडाको गाडीको प्रयोग बन्द गर्न, पर्यटन विकासका लागि आवश्यक कदम चाल्न, किसानको लागि मलखाद र सिचाई व्यवस्था गर्ने, आन्तरिक आम्दानी स्रोत बढाउन, अनियमतित कर्मचारी भर्ना सार्वजनिक गर्न र विभिन्न समुदायका लागि छुट्याइएका रकमको सही सदुपयोगको माग गरिएको छ ।

यादवले भने, ‘हामीले जनताको हकहितको रक्षा गर्न ११ बुँदे मागपत्र पेश गरेका हौं । १० दिनभित्र माग सम्बोधन नभए हामी चरणवद्ध आन्दोलनमा उत्रने छौं ।’

माओवादी केन्द्रले जनताको बलिदान र संघर्षको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरिएको र अहिले स्थानीय सरकारलाई जनतालाई सुविधाप्रदान गर्ने जिम्मेवारी रहेको जनाएको छ । यसका साथै जनताको सबैभन्दा नजिकको सरकार भए पनि सेवा प्रवाहमा समस्याहरू उत्पन्न भएको भन्दै यसलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको पार्टीले जोड दिएको छ ।

यदि नगरपालिकाले माओवादी केन्द्रका ११ बुँदे माग पूरा नगरे आगामी फागुन १२ गतेदेखि माओवादी केन्द्रले व्यापक आन्दोलनको तयारी गरेको जनाएको छ ।