धनुषा र बारा जिल्ला प्रशासन कार्यालयको उत्कृष्ट कार्यसम्पादन, मधेश प्रदेशमा अग्रणी स्थानमा

जनकपुरधाम, २ फागुन । मधेश प्रदेशका दुई प्रमुख जिल्ला प्रशासन कार्यालय धनुषा र बाराले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट प्रदर्शन गर्दै ४६औं स्थान प्राप्त गरेका छन् ।
आर्थिक वर्ष ०८१–८२ को दोस्रो त्रैमासिक कार्यसम्पादन सम्झौता मूल्यांकन प्रणालीमा यी दुई जिल्लाले उल्लेखनीय सुधार गर्दै यो सफलता प्राप्त गरेका हुन् ।
गृह मन्त्रालयले प्रकाशित गरेको कार्यसम्पादन मूल्यांकन नतिजामा धनुषा र बारा जिल्लाले ४६औं स्थान हासिल गरेका छन् । यसअघिको कार्यसम्पादन मूल्यांकनमा धनुषा जिल्ला ७७औं स्थानमा रहेको थियो । तर, यस पटक ३१ स्थानको सुधार गर्दै ४६औं स्थानमा पुगेको हो । यस उपलब्धिले धनुषा जिल्ला प्रशासन कार्यालयको कार्यक्षमता र व्यवस्थापनमा उल्लेखनीय सुधार भएको देखाउँछ ।
धनुषा र बारा जिल्लाको उत्कृष्ट कार्यसम्पादन मूल्यांकनले मधेश प्रदेशमा अन्य जिल्लालाई पनि प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ । यस मूल्यांकनमा रौतहट ६१औं स्थानमा, पर्सा ६३औं स्थानमा र सिरहा ६८औं स्थानमा रहेका छन् । महोत्तरी र सप्तरी जिल्लाले ६९औं स्थान प्राप्त गरेका छन् भने सर्लाही जिल्ला ७४औं स्थानमा रहेको छ ।
यस परिणामसँगै समग्र मधेश प्रदेशको कार्यसम्पादन मूल्यांकनमा धनुषा र बारा जिल्लाले अग्रणी स्थान प्राप्त गरेकाले समग्र प्रदेशका लागि गर्वको विषय बनिरहेको छ ।
धनुषा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले यो सफलता कर्मचारीहरूको कडा मेहनत र टिमवर्कको परिणाम भएको बताए । कडरीयाले भने, ‘हाम्रो टीमको कडा परिश्रम र समर्पणले यो स्थानमा पुग्न मद्दत पुर्याएको छ । यस उपलब्धिले हामीलाई अझै उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरित गरेको छ ।’
यस सफलता पश्चात् धनुषा र बारा जिल्लाका प्रशासनिक संरचनामा सकारात्मक परिवर्तन र प्रभावकारी कार्यप्रणालीलाई अझ बढी सुदृढ गर्न थप उपायहरू अवलम्बन गरिने विश्वास व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


