मलाह समुदायको जलकी देवी कमला माईको विशेष पूजा सम्पन्न

जनकपुरधाम, २ फागुन । धनुषाको हंसपुर नगरपालिका अन्तर्गत बघचौडा गाउँमा मलाह समुदायले आफ्नो कुलदेवी जलकी देवी कमला माईको विशेष पूजा भव्य रूपमा सम्पन्न गरेका छन् ।
हरेक वर्षको फागुन महिनामा मनाइने यो विशेष पूजा परम्परागत रूपमा मलाह जातिले श्रद्धा र आस्थासाथ गर्दै आएका छन् । यस वर्ष पनि हंसपुर नगरपालिका वडा नम्बर–२ र ३ का मलाह समुदायका श्रद्धालुहरू पूजाका लागि अरहरी खोलाको किनारमा जुटेका थिए ।
कमला माई पूजा समितिका अनुसार यस पूजामा सल्लामी अर्पण, महराई भजन गान र देवता खेलाउने परम्परा पुरानै रीतिमा निर्वाह गरिएको थियो । पूजा समारोहमा मलाह समुदायका साथै आसपासका विभिन्न जातिका हजारौँ श्रद्धालुहरूको सहभागिता थियो । विशेष रूपमा मलाह समुदायका सदस्यहरू माछा पालन, माछा सिकार र माछा व्यवसायमा संलग्न रहेको हुनाले यो पूजा उनीहरूको पेशागत जीवनसँग जोडिएको धार्मिक अनुष्ठान हो ।
समितिका सल्लाहकार निर्गुण सहनीका अनुसार, ‘कमला माई हाम्रो समुदायको कुलदेवी मात्र होइन । जल स्रोतसँग सम्बन्धित सबै व्यक्तिहरूका लागि महत्वपूर्ण देवी हुनुहुन्छ ।’ कमला माईलाई जलकी देवीको रूपमा पूजा गर्दै मलाह समुदायका सदस्यहरूले पूजामा फलफूल, मिठाई, तसमै (खीर), हुक्का, पिनी र मिथिलाञ्चलको प्रसिद्ध माघे प्रसाद (चचिनीको लड्डु) चढाउने परम्परा पनि रहेको छ ।
यस पूजा अवसरमा मलाह समुदायका पवित्र देवी देवता कमला माई, कोइलावीर, दयालसिंह र शिवधर पजियारलाई विशेष पूजा अर्पण गरी खसीको बली चढाइन्छ । समितिका अर्का सल्लाहकार राजेन्द्र सहनीले भने, ‘कमला माईले मलाह समुदायलाई जल स्रोतमा सुरक्षा र समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ । यही कारणले हामीले मलाह समुदायको पिढ़ी दर पिढ़ी कुलदेवीका रूपमा कमला माईको पूजा गर्दै आएका छौं ।’
साहित्यकार रामभरोस कापडीका अनुसार, ‘कमला माईको पूजा केवल जातीय परम्परामा सीमित छैन । यो पूजा मलाह समुदायको पेशागत जीवनसँगै क्षेत्रीय संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।’
यस धार्मिक अनुष्ठानले मल्लाह समुदायको ऐतिहासिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै उनीहरूको धार्मिक र सांस्कृतिक पहिचानलाई बलियो बनाएको विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


