नवनियुक्त कार्यवाहक अध्यक्ष दत्तले सम्हाले कार्यभार

जनकपुरधाम, २ फागुन । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको कार्यवाहक अध्यक्षको पदमा प्रसिद्ध साहित्यकार र गीतकार अशोक कुमार दत्तलाई नियुक्त गरिएको छ ।
प्रदेश सञ्चार सम्बन्धी ऐन, २०७७ को दफा ९ अनुसार मन्त्रालयको निर्णयअनुसार दत्तलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । उनको नियुक्ति फागुन १ गतेको निर्णय बमोजिम गरिएको छ । आगामी बोर्ड अध्यक्षको नियुक्ति नभएसम्म दत्त कार्यवाहक अध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का बासिन्दा अशोक कुमार दत्त एक कुशल साहित्यकार र गीतकारका रूपमा परिचित छन् । उनले आफ्नो काव्य र गीत रचनामा समाजका विविध पक्षलाई उजागर गरेका छन् । साहित्यको क्षेत्रमा पनि उनले महत्वपूर्ण योगदान पुर्याएका छन् ।
दत्तले आज औपचारिक रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी ग्रहण गरेका छन् । आफूले चलचित्र र लोकसञ्चार प्रवर्द्धन बोर्डलाई नयाँ दिशा र ऊर्जा दिने उनले बताएका छन् ।
कार्यवाहक अध्यक्षको रूपमा दत्तले बोर्डको कार्यलाई प्राथमिकता दिँदै चलचित्र र लोकसञ्चारका क्षेत्रमा सुधार ल्याउने र राज्यको संचार नीति तथा योजनामा सुधारका उपायहरू सिफारिस गर्नेछन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


