भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

काठमाडौं, २९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।
माघ २४ गते मंगलबार बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा सदनमा सहमति नजनाउने निर्णय गरेको जसपा नेपालको संसदीय दलका प्रमुख सचेतक रेखा यादवले बताइन् ।
मंगलबार संसदमा अध्यादेश पेश गर्ने कार्यसूचीमा भूमि सम्बन्धी अध्यादेश पनि राखिएको थियो । जसपा नेपालको संसदीय दलको बैठक सोही दिन बसेको थियो । तर, बैठक चलिरहेकै बेला कार्यसूचीबाट भूमि सम्बन्धी अध्यादेश हटेपछि जसपाले तत्काल कुनै निर्णय गरेको थिएन । त्यसपश्चात पार्टीले छलफल गरी भूमि सम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
जसपा नेपाल राष्ट्रियसभामा निर्णायक पार्टीको रुपमा उभिएको छ । जसपा नेपालको तीन सांसद राष्ट्रियसभामा रहेका छन् । तीन सिटबिना सरकारले भूमि सम्बन्धी अध्यादेश पास गराउन सक्दैन । यसै कारणले जसपा नेपाललाई सत्ता बार्गेनिङ गरेको आरोप पनि लागिरहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका सभापति शेरबहादुर देउवाले जसपा नेपालसँग अध्यादेश पारित गराउन सहयोग गर्न आग्रह गरिसकेका छन् । तर, जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशमा सहमति नजनाउने निर्णय गरेपछि यसको पारित हुने सम्भावना अनिश्चित बनेको छ ।
राष्ट्रियसभामा ५९ सदस्य रहेकोमा सरकारलाई अध्यादेश पास गराउन ३० सिट आवश्यक पर्छ । वर्तमानमा सरकारसँग २९ सिट मात्र छ । बामदेव गौतमले कांग्रेस–एमालेलाई समर्थन गरे तापनि एक सिटको अभाव छ । राष्ट्रिय जनमोर्चाले पनि समर्थन नगर्ने स्पष्ट पारेपछि अब जसपा नेपालको सहयोगमा भर पर्ने अवस्था थियो ।
तर, जसपाले भूमि सम्बन्धी अध्यादेशलाई अस्वीकार गरे पनि बाँकी पाँच अध्यादेशको पक्षमा भने सहयोग गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


