काठमाडौं, २९ माघ । नेपालले २०२४ को विश्वव्यापी भ्रष्टाचार सूचकांक (सीपीआई)मा आफ्नो स्थानमा झिनो सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सूचकांकमा नेपालले १०० मा ३४ अंक प्राप्त गर्दै १०७औं स्थानमा परेको हो ।

यो गत वर्षको तुलनामा एक स्थानले तल खस्किएको भए तापनि नेपालले भ्रष्टाचार सूचकांकमा ३४ अंकको प्रगति हासिल गरेको छ । गत वर्ष नेपाल ३५ अंकका साथ १०८औं स्थानमा रहेको थियो ।

सार्वजनिक प्रतिवेदनमा नेपालले थोरै प्रगति गरे पनि दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान बनेको छ । भुटानले ७२ अंक प्राप्त गर्दै आफ्नो स्थायित्व कायम राखेको छ । त्यस्तै, दक्षिण एसियाको सबैभन्दा भ्रष्ट देशको रूपमा अफगानिस्तान रहेको छ । अफगानिस्तानले सूचकांकमा न्यूनतम अंक प्राप्त गरेको छ ।

यद्यपि, विश्वको सन्दर्भमा हेर्ने हो भने कम भ्रष्टाचार हुने देशको सूचीमा डेनमार्क अग्रस्थानमा रहेको छ । डेनमार्कले ९० अंक प्राप्त गर्दै लगातार सातौं वर्षसम्म विश्वकै सबैभन्दा कम भ्रष्टाचार भएको देशको रूपमा आफ्नो स्थान कायम राखेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले तयार पारेको यो सूचकांकले १८० देशलाई समेटेको छ । यसमा साउथ सुडान ८ अंक प्राप्त गर्दै सबैभन्दा भ्रष्ट मुलुकको रूपमा देखा परेको छ ।

नेपालले सुधारका केही कदम चाले पनि अझै भ्रष्टाचार नियन्त्रणका लागि थप ठोस पहल र रणनीतिहरू आवश्यक देखिन्छन् । दक्षिन एसियामा सुशासन र पारदर्शिता कायम राख्नका लागि आवश्यक सुधार र नीति कार्यान्वयनमा तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ ।