जनकपुरधामका हस्पिटल कुण्डलिया ग्याङ्गले सञ्चालन गरिरहेको पाइएको छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम, २८ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका केही अस्पतालहरूलाई गैर–व्यवसायिक व्यक्तिहरू र अव्यवस्थित समूहहरूले सञ्चालन गरिरहेको गम्भीर खुलासा गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा बर्दिवासस्थित कार्यालयले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले जनकपुरधाममा धेरै हस्पिटलहरूलाई योग्य स्वास्थ्यकर्मीहरूले नभई एम्बुलेन्स चालकदेखि कुण्डलिया समूह जस्ता गैर–व्यवसायिक व्यक्तिहरूले सञ्चालन गरिरहेको पाइएको बताएका छन् ।
मुख्यमन्त्री सिंहले भने, ‘जनकपुरधाममा अधिकांश हस्पिटल अनमी, नर्स मात्र नभई एम्बुलेन्स चालक र कुण्डलिया ग्याङ्गहरूले समेत चलाइरहेका छन् । अस्पतालहरूमा जाँदा कतिपय ठाउँमा त यस्ता अव्यवस्थित समूहहरूले स्वास्थ्य सेवा सञ्चालन गरिरहेको पाएँ ।’
सिंहले यस्ता हस्पिटलहरूको व्यवस्थापनमा सुधारको आवश्यकता औंल्याउँदै भ्रष्टाचार र सुशासनभन्दा बढी अव्यवस्थित र गैर–नियमित गतिविधिहरूले स्वास्थ्य सेवाको गुणस्तरमा गिरावट आएको बताए । साथै उनले अवैध क्रसर उद्योगहरूको समेत चर्चा गर्दै यी क्रसरहरू संचालन हुँदा सबै पक्ष मौन बसेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा उनले नीतिगत सुधार आवश्यक रहेको बताउँदै व्यवहारिक समस्याहरूलाई समाधान गर्न प्रदेश सरकारको ध्यान केन्द्रित हुने बताए । मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रको सुधार र क्रसर उद्योगहरूको नियमनलाई प्रदेशको प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिवद्धता जनाए ।