मधेश प्रदेशसभाका सभामुख मण्डलले नेता र कर्मचारीलाई चोर भने

जनकपुरधाम, २८ माघ । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले नयाँ घर बनाउने कर्मचारी र नेता सबैलाई चोर र भ्रष्टाचारीको संज्ञा दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले कर्मचारी र नेताहरुको तलबले मात्र नयाँ घर बन्न नसक्ने स्पष्ट गर्दै भने, ‘नेता र कर्मचारीको तलबले घरजम चलाउन नै गाह्रो छ । तिनीहरूले कसरी नयाँ घर बनाउँछन्?’ उनले नयाँ घर बनाउने कर्मचारी वा नेतालाई चोर र भ्रष्ट भएको स्पष्ट संकेत गर्दै, ‘कसैले नयाँ घर बनायो भने बुझ्नुस्, तिनीहरू चोर हुन् ।’
सभामुख मण्डलले हरेक पाँच वर्षमा कर्मचारी र जनप्रतिनिधिहरूको तीन पुस्ते सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पाँच वर्षमा एकपटक सम्पत्ति विवरण अद्यावधिक भए मात्रै वास्तविक स्थिति थाहा हुन्छ ।’
घुस दिने र लिने दुवैलाई अपराधी ठहर्याउने नीतिलाई समेत आलोचना गर्दै उनले भने, ‘घुस दिनु बाध्यता हो । यसमा मान्छेले गल्ती गर्छ । त्यसैले घुस दिने व्यक्तिलाई डराउने नाराले समस्या समाधान हुँदैन । बरु यसले भ्रष्टाचार बढाइरहेको छ ।’
उनको भनाइ अनुसार अहिलेको नीति र नारा जनतालाई थप डराएर भ्रष्टाचार गर्न बाध्य बनाइरहेको छ ।