काठमाडौं, २८ माघ । नो केवलकार समूहले सरकारले वार्ताबाट समस्या समाधान गर्न इमान्दार नभएको भन्दै फागुन महिनामा विशाल आन्दोलनको घोषणा गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले माघ २९ गतेदेखि आन्दोलन सुरु गर्ने जनाएका छन् ।

समूहको तर्फबाट बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले फागुन ८ गते मुकुमलुङ पदयात्रामा सहभागी हुने घोषणा गरे।

महतोले फागुन ६ देखि ८ सम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गरिने जानकारी गराउँदै भने, ‘फागुन ८ सामाजिक न्याय दिवसको अवसरमा म मुन्धुम सभ्यता र मुकुमलुङको न्यायको निम्ति त्यहाँ जान्छु । तपाईंहरू पनि सहभागी हुनुहोस् र विशाल पदयात्रा गरौं । अब कुनै समुदायले एक्लै लड्नुपर्दैन । हामी मिलेर लड्नेछौं ।’

महतोले वर्तमान सरकारले निरंकुश प्रवृत्तिको देखिएको आरोप लगाउँदै माघ १२ गते शान्तिपूर्ण आन्दोलनकारीमाथि गोली चलाउने कार्यलाई निरंकुशताको ज्वलन्त उदाहरण बताएका छन् । उनले भने, ‘अब वार्ताको नाममा अल्मलिनु आवश्यक छैन । केवलकार निर्माणको अनुमति खारेज गर्न सरकारले निर्णय गरे पुग्छ ।’

महतोले माघ २७ सम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न दिएको अल्टिमेटम सरकारले बेवास्ता गरेकाले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । आन्दोलन थप ससक्त बनाइने उनको भनाइ छ ।

नो केवलकार समूहले आन्दोलन अन्तर्गत फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानीमा अवरोध साथै काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने निर्णय गरेको छ ।

यसका साथै कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा केबलकार सम्झौता खारेजीको मागसहित ज्ञापनपत्र बुझाउने र प्रदर्शन गर्ने तयारी पनि गरिएको छ । समूहले अनिश्चितकालीन यातायात बन्द र आमहडताल गर्ने चेतावनीसमेत दिएको छ ।