जनकपुरधाम, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको नेतृत्वमा केपी ओली रहेको अवस्थामा कम्युनिष्ट पार्टीको एकता सम्भव नरहेको स्पष्ट पारेका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘चुनाव सँगै मिलेर लडेकै हो । जनताले पनि साथ दिएको हो । तर, एमालेको नेतृत्वमा केपीजी रहेसम्म नेपालमा कम्युनिष्ट एकता सम्भव छैन् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरूको पार्टी विस्तार गर्ने अभियानमा लागेको र जनतासँग जाने योजना रहेको उल्लेख गरे । उनले थपे, ‘हामी पनि कहिले कांग्रेससँग, कहिले कोसँग मिल्दा उनीहरुको कल्चर हामीहरुमा पनि अलि सरेको जस्तो छ । अब हामी फेरी नुहाइधुवाइ गरेर जनतासँग जानुपर्यो ।’

प्रचण्डले सरकारको कमजोर स्थिति र तिनको दुई तिहाइ बहुमतको दाबीमा असहमति जनाउँदै भने, ‘दुई तिहाइ भएको सरकारले अध्यादेशको बाटो हिड्नै हुने थिएन । ६ दिनपछि सदन बोलाउनु छ भने ६ दिन अगाडि अध्यादेश ल्याउनेबाट नै दुई तिहाई हुँदाहुँदै पनि यो सरकार कति कमजोर छ भन्ने प्रमाणित गर्छ ।’ उनले सरकारको गतिबिधिलाई आलोचना गर्दै भने, ‘यो सरकार जनताको पक्षमा, राष्ट्रको पक्षमा, सुशासनको पक्षमा काम गर्नका लागि बनेकै होइन ।’

अध्यक्ष प्रचण्डले सरकारको असंवैधानिकता र लोकतन्त्र विरोधी प्रवृत्तिको पनि आलोचना गरे । उनले संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिन असफल भएपछि ३ मा गएर ठूलो दलको संविधान बन्नुपर्नेमा त्यसलाई मिचेर अहिलेको सरकार बनेको भन्दै यसलाई असंवैधानिक भनेका छन् ।

‘लोकतन्त्रमा सामान्यत विशिष्ट र अपवाद बाहेक पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने चलन छैन,’ प्रचण्डले भारतको सन्दर्भमा कुरा गर्दै भने, ‘नेपालमा भने लोकतन्त्रको विपरीत भएको छ ।’

यस क्रममा प्रचण्डले जनताको पक्षमा सशक्त कदम चाल्ने र सरकारको आलोचना जारी राख्ने आफ्नो योजना स्पष्ट गरे । उनका अनुसार माओवादी केन्द्र जनताको मुद्दामा अडिग रहन र नयाँ दिशा तर्फ अघि बढ्न प्रतिबद्ध रहेको छ ।