‘कमिसन नदिने उपभोक्ता र ठेकेदारलाई सास्ती दिन साह खप्पिस’

जनकपुरधाम, २८ माघ । धनुषाको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रामकिशोर साहले योजनाको शुरुवात हुनुअघि नै कमिसनको माग गर्दै असुली गर्न थालेको आरोप लागेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा कनिष्ठ पदमा रहेका साह गत जेठदेखि कार्यालय प्रमुख बनेका हुन् ।
साहले पछिल्लो समय ठेकेदार तथा उपभोक्ता समितिबाट मोटो कमिसन लिई, परियोजना पूरा नगरी भुक्तानी गराउने गरेको आरोप उठेको छ । गत आर्थिक वर्षमा समेत साहले केही योजनालाई अलपत्र पारी ठेकेदार र उपभोक्ता समितिसँग मिलेर अन्तिम समयमा कमिसनको चलखेल गर्दै रकम भुक्तानी गरेको आरोप लगाइएको थियो ।
कार्यालय स्रोतका अनुसार साह योजनाका काम उपभोक्ता समितिमार्फत गराउनुपर्नेमा अघोषित रूपमा ठेकेदारमार्फत गराउने प्रयासमा छन् । उनले कामलाई समयमा पूरा गर्न नसक्ने, अन्तिम समयमा मात्र रकम भुक्तानी गरेर कमिसन लिने रणनीति अपनाउने गरेको आरोप कार्यालयका केही कर्मचारीले लगाएका छन् ।
धेरै ठेकेदार र उपभोक्ता समितिका सदस्यहरूले साहलाई अगाडि कमिसन नदिए काममा विविध समस्या खडा हुने गुनासो गरेका छन् । कार्यालयका कर्मचारीहरूले साहले चालु आर्थिक वर्षमा करोडौँ रकम कमिसनको रूपमा उठाउने योजना रहेको खुलासा गरेका छन् । उनले काममा ढिलासुस्ती गर्ने र अन्तिम समयमा दबाब सिर्जना गरी ठेकेदारबाट कमिसन असुल्ने गरेको बताइएको छ ।
एक जना कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘साहले ठूलाबडा अधिकारीलाई उछिनेर कार्यालय प्रमुख बन्न कमिसनकै खेल खेलेको हो । उनको क्षमताभन्दा पनि राजनीतिक पहुँच र आर्थिक चलखेलकै आधारमा उनलाई यो जिम्मेवारी दिइएको हो ।’
गत आर्थिक वर्षमा अधुरा रहेका योजनाहरूले सर्वसाधारणलाई असहजता निम्त्याएको र यसका कारण स्थानीयहरू समस्यामा परेका छन् । यस विषयमा साहसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन उठेन ।
साहले आफूले कार्यालयको नेतृत्वमा रहँदा विभिन्न कर्मचारी र प्राविधिकहरूमाथि आफूलाई क्षमतावान प्रमुखका रूपमा देखाउन प्रयास गर्ने गरेका छन् । तर, उनको नेतृत्वमा परियोजनाहरू अलपत्र पर्ने र ठेकेदारबाट पैसा उठाएर काम नगरी भुक्तानी गराउने क्रम निरन्तर जारी रहेको कर्मचारीहरूको भनाइ छ ।
रामकिशोर साहजस्ता प्रमुखहरूले सरकारी योजनामा अनियमितता गर्न छुट नपाउने व्यवस्था कडाईका साथ लागू गर्न आवश्यक रहेको विभिन्न कर्मचारीहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


