जनकपुरधामका चार अस्पतालले सरकारलाई बुझायो साँचो

जनकपुरधाम, २७ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवैध रूपमा सञ्चालित चार निजी अस्पतालहरूले मुख्यमन्त्री सतिषकुमार सिंहको निर्देशनमा अस्पताल बन्द गरी आफ्नो साँचो मुख्यमन्त्री कार्यालयमा बुझाएका छन् ।
स्थानीय निकाय र प्रदेश सरकारमा दर्ता नभएका, नियमित नवीकरण नगरेका र कानूनी प्रक्रिया पूरा नगरेका अस्पतालहरूले साँचो बुझाएका हुन् ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा शनिबार बिहानदेखि सुरु भएको अनुगमनको क्रममा जनकपुरधाममाका २० अस्पतालहरूको कागजातको परीक्षण गरिएको थियो । जसमध्ये १९ वटा अस्पतालले कानूनी प्रक्रिया पूरा नगरेको पाइएको थियो । त्यसपछि मुख्यमन्त्री सिंहले तत्काल ताला लगाउन र बिरामीलाई अन्य अस्पतालमा सिफ्ट गर्न निर्देशन दिएका थिए ।
मुख्यमन्त्रीको निर्देशनपछि सिता हस्पिटल, मुस्कान अस्पताल, अरमान हस्पिटल र बिएन हस्पिटल एण्ड रिसर्च सेन्टरले बिरामीको उपचारको व्यवस्था गरिसकेपछि ताला लगाएर मुख्यमन्त्री कार्यालयमा साँचो बुझाएका हुन् ।
मुख्यमन्त्री सिंहका अनुसार २० वटा अस्पतालहरूको अनुगमनको क्रममा जीवन ज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर ग्राण्डी हस्पिटल, साइन मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, राम मेमोरियल हस्पिटल, समर हस्पिटलजस्ता अस्पतालहरू अवैध रूपमा सञ्चालित रहेका थिए ।
त्यसैगरी, केयर मेडिकल सेन्टर, नेपाल अपोलो हस्पिटल, मिथिला केयर क्लिनिक, जनकपुर मोर्डन हस्पिटल एण्ड रिसर्च सेन्टर, माँ गायत्री मेमोरियल हस्पिटल र अरमान हस्पिटल लगायतका निजी अस्पतालहरूले पनि सरकारी मापदण्डलाई उल्लङ्घन गरेको पाइएका छन् ।
मुख्यमन्त्री सिंहको अनुगमनको प्रमुख कारण जनकपुरधामको मुस्कान अस्पतालमा भएको एक बिरामीको लापरबाही थियो । सो अस्पताललले एक महिलाको पित्तथैलीको अप्रेसनपछि २० दिनसम्म होस् नपाएपछि यो मुद्दा अघि सरेको थियो ।