काठमाडौं महानगरले गुन्डागर्दी प्रदर्शन गरिरहेको प्रभु साहको आरोप

काठमाडौं, २७ माघ । काठमाडौं महानगरपालिकाले आइतबार टेकुस्थित कवाडी गोदाम हटाउने क्रममा गुन्डागर्दीको प्रदर्शन गरेको भन्दै आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले कडा आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद साहले महानगरपालिकाको नगर प्रहरीद्वारा टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरिएको बताएका छन् ।
साहले भने, ‘आज बिहान ११ बजे टेकुको कवाड क्षेत्रमा काम गर्ने मजदुरहरूलाई कथित महानगरका प्रहरी भन्नेहरूको समूहले सांघातिक हमला गरेर गम्भीर घाइते बनाएका छन् । यो कार्य कानुन र अदालतको आदेश विपरीत भएको छ । सरकार कानुनको बहालीका लागि सक्षम हो भने सबै नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न तत्परता देखाओस् ।’
घटनामा काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल र कवाडी व्यवसायीहरूबीच झडप भएको थियो । महानगरको भनाइअनुसार टेकुस्थित अवैध संरचना हटाउन पुगेको नगर प्रहरी बललाई कवाडी व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप सुरु भएको हो । झडपमा पाँच जना घाइते भएका छन् ।
नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीहरूले बोत्तल प्रहार गर्न थालेपछि आत्मसुरक्षाका लागि प्रहरीले कदम चाल्नुपरेको दाबी गरेका छन् ।
उनले भने, ‘हामी अवैध संरचना हटाइरहेका थियौं । तर, कवाडी व्यवसायीहरूले अचानक सिसाका बोत्तल प्रहार गर्न थाले । त्यसक्रममा हाम्रा दुई जना प्रहरी पनि घाइते भएका छन् । आत्मसुरक्षा गर्दा केही व्यवसायी पनि घाइते भएका छन् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


