काठमाडौं, २७ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग छिट्टै पार्टी एकता हुने संकेत गरेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा, नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले जनमत पार्टीसँगको एकताबारे बोलेका हुन् ।

उक्त समारोहमा बोल्दै चौधरीले भने, ‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ ।’ मन्तव्यका क्रममा जनमत पार्टीका सभापति डा. सिके राउत पनि त्यही मञ्चमा उपस्थित थिए ।

रेशम चौधरीले जनमतसँगको एकता प्रक्रिया अघि बढिसकेको र अन्य वैकल्पिक दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे । उनले नेसपा (नयाँ शक्ति), विवेकशील साझा लगायतका अन्य वैकल्पिक आवाज उठाइरहेका दलहरूसँग पनि एकताका लागि मार्ग खुला रहेको बताए ।

स्रोतका अनुसार नाउपा र जनमत पार्टीबीचको एकता प्रक्रिया सकारात्मक निष्कर्षमा पुगेको छ । ‘नाउपा र जनमतले एकता गरेर जाने लगभग सहमति जुटिसकेको छ । कुनै प्रतिकूलता आएन भने चाँडै एकता घोषणा हुनेछ,’ स्रोतले भन्यो ।

दुवै पार्टीले २०७९ सालको चुनावमा अप्रत्यासित जनमत प्राप्त गरेका थिए । जनमत पार्टीको पूर्वी मधेशमा र नाउपाको पश्चिम मधेशमा बलियो पकड रहेको छ । प्रतिनिधिसभामा जनमतसँग ६ सिट र नाउपासँग ४ सिट रहेको छ भने प्रदेशस्तरमा सुदूरपश्चिममा नाउपा र मधेश प्रदेशमा जनमत पार्टीको बलियो उपस्थिति छ ।