सरकारमा जानका लागि कुनै बार्गेनिङ गरेका छैनौं : उपेन्द्र यादव

काठमाडौं, २७ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले सरकारमा सहभागी हुन कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका छन् ।
आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेशलाई देखाएर आफूहरूले सत्ताको बार्गेनिङ गरिरहेको भन्ने आरोप अस्वीकार गरेका हुन् ।
सञ्चारकर्मीको प्रश्न, ‘अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो?’ भन्ने प्रसंगमा उनले भने, ‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं, मन्त्रालय चाहिएन ।’ उनले पार्टीको उद्देश्य सरकारमा जानु नभई देश र जनताको हितमा काम गर्नु रहेको पनि स्पष्ट पारे ।
अध्यक्ष यादवले आफ्नो पार्टीले सरकारले ल्याएका ६ वटा अध्यादेशबारे स्पष्ट धारणा बनाइसकेको जानकारी दिए । संसद्को कार्यसूचीमा ती अध्यादेशहरू चढ्नेबित्तिकै जसपा नेपालले निर्णय सुनाउने उनले बताए । ‘हाम्रो धारणा सकारात्मक छ । हामी विज्ञहरूको सल्लाहमा टेकेर निर्णय लिन्छौं । सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ,’ उनले थपे ।
अध्यक्ष यादवले सरकारकै कारणले अध्यादेशहरू संसद्को कार्यसूचीमा नचढेको भन्दै आफ्नो पार्टीलाई दोष दिने प्रयास गलत भएको बताएका छन् । ‘हाम्रो निर्णयका कारण अध्यादेश अड्किएको होइन । कार्यसूचीबाट हटाउनु सरकारको काम हो,’ उनले भने ।
उनले सरकारको दुविधाले गर्दा हिउँदे अधिवेशनमा प्रस्तुत गर्नुपर्ने अध्यादेश संसद्मा पेश हुन नसकेको र यो प्रकरणमा सरकार नै बाधक रहेको पनि उल्लेख गरे ।
संविधानअनुसार अधिवेशन सुरु भएको पहिलो दिन पेस गर्नुपर्ने र दुवै सदनबाट स्वीकृत गराएर ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर ऐनमा रुपान्तरण गर्नुपर्ने बाध्यता छ । समयमै विधेयक नल्याए सबै अध्यादेश निष्क्रिय हुनसक्छन् ।
यद्यपि, जसपाले विज्ञहरूसँगको छलफलपछि मात्र अन्तिम निर्णय लिने जनाएको छ ।