जनकपुरधाम, २७ माघ । धनुषाको कमला नगरपालिका–२ माची झिटकैयास्थित माध्यमिक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच हात हालाहाल भएको छ ।

पेश्की रकमको विषयलाई लिएर प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच झगडा भएको हो ।

शिक्षक यादवले आफ्नो आमाको निधन भएको भन्दै विद्यालयबाट पेशकी रकम मागेका थिए । यस क्रममा प्रधानाध्यापक जगरनाथ यादवले विद्यालयको नियमअनुसार २५ हजार रुपैयाँ मात्र दिन सक्ने बताएपछि विवाद सुरु भएको हो । विवादले चर्को रूप लिएर हात हालाहालसम्म पुगेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

विद्यालयमा भएको घटनामा दुवै शिक्षकले एकअर्कालाई धक्का दिने र हातपात गर्ने अवस्थामा पुगेपछि अन्य शिक्षकहरूले छुटाउने प्रयास गरेका थिए । विद्यालय परिसरमै भएको यस घटनाले स्थानीय अभिभावक र विद्यार्थीसमेत स्तब्ध बनेका छन् ।

प्रधानाध्यापक जगरनाथ यादवले भने यो सामान्य विवाद मात्र भएको दाबी गर्दै शिक्षक रोहितले ५० हजार रुपैयाँ पेशकी माग्दा आफूले नियमानुसार २५ हजार रुपैयाँ मात्र दिन सक्ने बताएपछि आफूमाथि आक्रमण गर्न खोजेको बताए । उनले थपे, ‘यो घटनामा कुनै ठूलो विवाद छैन । आपसी असहमति मात्रै हो ।’

यता, स्थानीय वडाध्यक्ष ठक्कु यादवले घटनाबारे जानकारी दिँदै भने, ‘दुवै जनाबीच पेशकीको विषयलाई लिएर सामान्य विवाद भएको थाहा पाएको छु । मैले दुवैलाई सम्झाई बुझाइ गरेर सहमतिमा ल्याएको छु । यदि थप समस्या छ भने निवेदन दिन भनेको छु ।’

हाल विद्यालय प्रशासनले यो घटनालाई व्यवस्थापन गर्न कस्तो कदम चाल्ने हो भन्ने बारेमा कुनै निर्णय गरेको छैन ।