छैटौं जनकपुर साहित्य महोत्सवमा ४६ लाख ५० हजार खर्च, २ लाख ५० हजार बचत

जनकपुरधाम, २६ माघ । नव मिथिला फाउण्डेशनले छैटौं जनकपुर साहित्य महोत्सवको हरहिसाब कार्यक्रम स्थलमै सार्वजनिक गरेको छ ।
यस वर्ष महोत्सवको आयोजनाका क्रममा फाउण्डेशनले विभिन्न प्रायोजक तथा निकायहरूसँग कूल ४९ लाख रुपैयाँ संकलन गरेको थियो ।
फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार यस महोत्सवको आयोजनामा ४६ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ भने २ लाख ५० हजार रुपैयाँ बचत भएको छ ।
कार्यक्रमका लागि विभिन्न शीर्षकमा खर्च गरिएपनि संस्थाले पहिलोपटक बचत गर्न सफल भएको फाउण्डेशनले जनाएको छ । यस वर्षको आयोजनका लागि साउण्ड र लाइटमा १२ लाख, स्टेज डेकोरेशनमा ३ लाख, प्रिइभेन्ट गतिविधिमा २ लाख, पुरस्कार वितरणमा ३ लाख ५० हजार, बसोबासको व्यवस्थापनमा ५ लाख, ट्राभलिङ्ग एण्ड टिकेटिङ्गमा ५ लाख, गिफ्ट्स एण्ड ह्याम्परमा २ लाख ५० हजार, कलाकारहरुको शुल्कमा ३ लाख, खानामा ५ लाख, ब्राण्डिङ्ग एण्ड मार्केटिङ्गमा २ लाख र मिडिया तथा ब्रोडकास्टिङ्गमा ३ लाख ५० हजार रुपैयाँ खर्च गरिएको बताइएको छ ।
फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले भने, ‘पारदर्शिता हाम्रो संस्थाको विशेषता हो । जनकपुर साहित्य महोत्सवको हिसाबकिताब हामीले सार्वजनिक गरेका छौं र पहिलोपटक यस महोत्सवमा २ लाख ५० हजार रुपैयाँको बचत गर्न सफल भएका छौं । यसले हाम्रो संस्थाको आर्थिक व्यवस्थापनको सुदृढतालाई पुष्टि गर्दछ ।’
महोत्सवमा यस वर्ष साहित्य, संस्कृति र कलाका विभिन्न पक्षलाई उजागर गर्दै कलाकार, साहित्यकार र विशिष्ट व्यक्तित्वहरूलाई सहभागी गराइएको थियो ।