जनकपुरधाममा कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर एशोसिएसन गठन, शिक्षाको स्तरीयतामा नयाँ आयाम थप्ने उद्देश्य

जनकपुरधाम, २६ माघ । जनकपुरधाम लगायत मधेश प्रदेशका आठवटै जिल्लामा सञ्चालनमा रहेका कोचिङ्ग र ट्रेनिङ्ग सेन्टरहरुलाई एकत्रित गर्दै उनीहरुको छाता संगठनको रुपमा कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर एशोसिएसन गठन गरिएको छ ।
शिक्षण तथा तालिम केन्द्रहरुको क्रियाकलापलाई व्यवस्थित र गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यसहित एशोसिएसन गठन गरिएको हो ।
नवगठित कार्यसमितिमा सत्यम कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका सञ्चालक सत्यम यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । साथै, पुजा देवी साह उपाध्यक्षको रुपमा चयन भएकी छन् भने सचिवमा अम्बिका कुमारी महतो, उप–सचिवमा संजीव कुमार महरा र कोषाध्यक्षमा प्रमोद कुमार महतो चयन भएका छन् ।
सदस्यहरुमा सुनिल झा, संतोष कारक, संजय कुमार साह, कमल कुमार साह, तनविर रेजा राइन र जय कुमार साहलाई चयन गरिएको छ ।
एशोसिएसनको सल्लाहकार समितिमा अभय सिंह, प्रविन साह र रविन्द्र मण्डल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष सत्यम यादवले शिक्षण प्रणालीलाई अझ बढी गुणस्तरीय बनाउन एशोसिएसनको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
उनले भने, ‘हामीले शिक्षाको स्तर उकास्ने र विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्यसहित यस एशोसिएसनको गठन गरेका हौं । विभिन्न कोचिङ्ग तथा ट्रेनिङ्ग सेन्टरहरुलाई एकीकृत गर्दै उनीहरुको गतिविधिलाई व्यवस्थित गर्नु हाम्रो प्राथमिकता हुनेछ ।’
उपाध्यक्ष पुजा देवी साहले विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणका लागि सबै कोचिङ्ग तथा ट्रेनिङ्ग सेन्टरहरुलाई एकजुट गराउँदै सहयोगी वातावरण बनाउने कुरामा जोड दिएकी छन् ।
उनले भनिन्, ‘विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हामी सबैलाई सहकार्य आवश्यक छ । हामी यस एशोसिएसनमार्फत् नयाँ अवसरहरुको खोजी र सिर्जनात्मक उपायहरु अपनाउन उत्साहित छौं ।’
कोषाध्यक्ष प्रमोद कुमार महतोले संस्थाको आर्थिक पारदर्शिता र स्थायित्वका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘एशोसिएसनको आर्थिक सुदृढीकरण र पारदर्शिताको सुनिश्चितता हामीले पहिलो प्राथमिकतामा राख्नेछौं । यसले हाम्रा गतिविधिहरु सुचारु रूपमा सञ्चालन गर्न मद्दत पुर्याउनेछ ।’
एशोसिएसनले मधेश प्रदेशभरिका कोचिङ्ग तथा ट्रेनिङ्ग सेन्टरहरुलाई एकत्रित गर्दै शिक्षाको गुणस्तर वृद्धि, व्यवस्थापनमा सुधार र विद्यार्थीहरुको भविष्य निर्माणमा योगदान दिने लक्ष्य राखेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


